काठमाडौंबाट बझाङ जाँदै गरेको ना ६ ख १३३९ नम्बरको बस आइतबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत बारबर्दिया नगरपालिका– ७, रम्भापुरमा पल्टिएको छ ।
दुर्घटनामा १७ यात्रु घाइते भएका छन् । घाइतेमध्ये पाँच यात्रुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते पाँचै जनालाई उपचारार्थ कोहलपुरस्थित शिक्षण अस्पताल लगिएको छ । अवस्था सामान्य रहेका १२ घाइतेको भने स्थानीय स्वास्थ्यकेन्द्रमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक मदनजित महराले बताएका छन् ।
दुर्घटनालगत्तै बसका चालक फरार रहेकाले उनको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।