गण्डकी प्रदेशका एक फरार अभियुक्तलाई प्रहरीले ३० वर्षपछि पक्राउ गरेको छ । प्रहरी निरीक्षक वसन्त पाण्डेको नेतृत्वमा सादा पोशाकमा गएको प्रहरी टोलीले दूधपोखरी गाउँपालिका– ४ घर भएका भ्यान्टे कामीलाई सोही क्षेत्रबाट शुक्रबार साँझ प्रक्राउ गरेको प्रहरीले जनाएको छ ।
तत्कालीन इलाम पोखरी गाविस– ५ र हाल दूधपोखरी गाउँपालिका– ४ बस्ने कामीलाई जिल्ला अदालतबाट २०४८ माघ १३ मा जन्मकैदको फैसला भई सर्वोच्च अदालतले समेत सोही फैसला सदर गरेको प्रहरीले जनाएको छ । पक्राउ रिेका कामीलाई आइतबार अदालतमा लगेर केही प्रक्रिया मिलाएपछि जिल्ला कारागार लगिने प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले बताए ।
धेरै पैसा ल्याएको आशङ्कामा कामीलगायत ५ जनाको टोलीले तत्कालीन इलाम गाविसका वेदप्रसाद पोख्रेललाई ढुङ्गाले हानेर मारेको थियो । उनको साथबाट नगद ४ हजार रुपैयाँ लुटी ५ जनाले बाँडीचुडी लिएका थिए । मृतकका दाजु कृष्णप्रसाद पोख्रेलले २०४८ असोज १८ मा कामीसहित ५ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा गरेका थिए ।
सोही समूहमा रहेका एक जनाले सजाय भोगिसकेका छन् र कामी हालै मात्र पक्राउ परेका छन् भने बाँकी ३ जना अझै फरार रहेको प्रहरीले जनाएको खबर राससले प्रेषित गरेको छ ।