सरकारद्वारा ‘प्रतिबन्ध’ लगाइएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच दोहोरो गोली हानाहान भएको खबर छ ।
सोमबार बिहान साढे ९ बजेतिर संखुवासभामा विप्लव नेकपाका कार्यकर्ता र प्रहरीबीच जम्काभेट हुँदा गोली हानाहान भएको बताइएको छ । दोहोरो भीडन्त भए पनि दुवै पक्षतर्फ कुनै क्षति भने नभएको बताइएको छ । गस्तीमा रहेको प्रहरी टोलीमाथि सिलिचुङ गाउँपालिका– १, होयाङग्लामा विप्लव नेकपाका कार्यकर्ताले फायरिङ गरेको प्रहरीले जनाएको छ । प्रहरी टोलीले जवाफी फायरिङ थालेपछि विप्लवका कार्यकर्ता भागेको प्रहरीको दावी छ ।
गस्तीमा निस्केको सुरक्षाकर्मी र विप्लव नेकपाका कार्यकर्ताबीच दोहोरो फाइरिङ भएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताएका छन् । सदरमुकाम खाँदबारीबाट एक दिनको पैदल दुरीमा पर्ने सिलिङचुङमा घटना भएको बताउँदै उनले भने– ‘घटना बिहान साढे ९ बजेतिर भएको हो, यसबारे थप के हो, कुरा बुझ्ने क्रममा छौं ।’
विप्लव नेकपाले भने आफ्नो तर्फबाट गोली हान्ने र भीडन्तमा उत्रने काम हालसम्म कहीं–कतै नभएको जनाएको छ । सो पार्टीका एक नेताले न्युजकोसेलीसँग भने– ‘जनतामा भ्रम छर्ने र क्रान्तिकारी कित्तालाई उत्तेजित पार्ने मनशायले हाम्राविरूद्ध राज्यले दिनदिनैजसाे एउटा न एउटा मूर्खता गर्दै आएको छ । हाम्रा निहत्था नेता–कार्यकर्ताको हत्यामा उत्रेको प्रशासनले त्यही सिलसिलामा हामीविरूद्ध फेरि अर्को भ्रम छरेको मात्रै हो । हाम्रो तर्फबाट कहीं–कतै सशस्त्र मुठभेड भएको छैन, भीडन्तमै उत्रनुपर्ने स्थिति आयो भने त्यो यति सामान्य हुँदैन, निकै भयानक हुन्छ ।’