वीरगञ्ज महानगरपालिका– २१, परवानीस्थित ‘सुशील वनस्पति प्रा.लि.’ मा शनिबार बिहानैदेखि भीषण आगलागी भैरहेको छ । बिहान साढे दुई बजेदेखि उद्योगको प्याकेजिङ प्लान्ट र गोदाममा आगलागी सुरु भएको हो ।
बारा–पर्साका विभिन्न स्थानबाट आएका बारुणयन्त्र प्रयोग गरी अग्नि नियन्त्रक, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले आगो निभाउने प्रयास गरिरहेको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् । आगलागी नियन्त्रण गर्न वीरगञ्ज, पोखरिया, सिमरा, अमलेखगञ्ज र कलैयाबाट बारुणयन्त्र बोलाइएको उनले बताए ।
तेलमा लागेको आगो नियन्त्रण गर्न बारुणयन्त्रकर्मीले फोमको प्रयोग गरे पनि फोम कम भएकाले नियन्त्रणमा समस्या देखिएको प्रजिअ भट्टराईले बताए । वीरगञ्जमा फोम नभेटिएकाले भारतको मोतिहारी तथा काठमाडौंबाट मगाउने प्रयास भइरहेको उनले बताए । आगलागीका कारण पुगेको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । उद्योगमा कोही नभएका बेला राति बिजुली सर्ट भई आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।