नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध युवा संगठन ‘रेड युथफोर्स’ का अध्यक्ष शिखर पहाडी ‘हिमशिखर’ लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ ।
चौकुने गाउँपालिका– ९, सुर्खेत निवासी जहरे नेपालीका छोरा शिखर पहाडी पक्राउ परेका हुन् । वीरेन्द्रनगर नगरपालिका– ११, पिपिरा, सुर्खेतबाट उनलाई बुधबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका छन् ।
विशेष सूचनाका अधारमा सुर्खेत पिपिरा नजिकैको क्षेत्रमा शङ्कास्पदहरुमाथि प्रहरीले जाँच सुरु गरेपछि शिखरले प्रहरीसँग वादविवाद गरेको प्रहरीको दावी छ । विवादको क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा शिखर विप्लवका कार्यकर्ता ठहर भएको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए । उनी पार्टीको भेरी–कर्णाली ब्युरो सदस्य समेत रहेको जनाइएको छ ।
दुई जिल्लानेता पनि पक्राउ
पश्चिम नवलपरासी प्रहरीले विप्लव नेकपाका दुई जिल्लास्तरका नेतालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सदस्य कमालुद्दिन अन्सारी र शारदा भण्डारी रहेका छन् । अन्सारीलाई बिहीबार बिहान र भण्डारीलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
दुवैजना आगो लगाए वापतको ‘सङ्गठित अपराध’ मुद्दामा फरार रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिएका छन् । रामग्राम– १०, नदवा बस्ने वर्ष ५७ का अन्सारीलाई बिहीबार बिहान घरबाटै पक्राउ गरी अनुसन्धान थालिएको थापाले बताए । प्रहरीले यसअघि बुधबार पनि सो पार्टीका जिल्ला सदस्य तथा विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) नवलपरासी जिल्ला अध्यक्ष शारदा भण्डारीलाई प्रहरीले पक्राउ गरेको थियो ।
२२ वर्षीया भण्डारीलाई पश्चिम नवलपरासी पहरीले सरावल गाउँपालिका– १, बासाचोकबाट पक्राउ गरेको हो । भण्डारीलाई जिल्ला प्रहरी कार्यालयमा राखी अनुसन्धान थालिएको छ । भण्डारी शिवराज नगरपालिका– १, कपिलवस्तुकी स्थायी वासिन्दा भएको खबर राससले प्रेषित गरेको छ ।