शुक्रबार बिहानैदेखिको अविरल वर्षाको कारण आएको पहिरोले पुरिँदा रामेछाप र काभ्रेमा गरी ३ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर रामेछापको रामपुरकी ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ । काभ्रेमा मृत्यु हुनेहरुको परिचय अझै खुल्न सकेको छैन ।
पहिरोले पुरिँदा रामेछापमा १ जना र काभ्रेको नालामा २ जनाको मृत्यु भएको प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रमेश थापाले जानकारी दिएका छन् । पहिरोमा पुरिएर काभ्रेमा ३ जना घाइते भएको समेत एसपी थापाले जनाएका छन् ।
अविरल वर्षाका कारण देशभर जनजीवन प्रभावित भएको छ । तराईका विभिन्न जिल्लाहरुका साथै काठमाडौं, सिन्धुली, पाल्पालगायतका जिल्लाहरु डुबानमा परेका छन् भने खोटाङलगायतमा पहिरोले मानिस पुरिएका छन् । प्रहरीको तथ्याङ्कअनुसार हालसम्म ११ वटा जिल्लाहरुमा बाढी, पहिरो र चट्याङ पर्दा स्थानीयहरु त्रसित भएका छन् ।