इलामको माई नगरपालिकामा बाढीले बगाएर तीन जना किशोरी बेपत्ता भएका छन् । माई नगरपालिका– १ निवासी आकृति लिम्बू, निशा साउदेन र सुनिता साउदेन बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी हेमन्त भण्डारीका अनुसार माई नगरपालिका– ६, गोतामे माविमा शुक्रबार परीक्षा सकेर शनिबार घर जाने क्रममा उनीहरुलाई खोलाले बगाएको हो । माई नगरपालिका– ६, बरधरे भन्ने स्थानबाट माइखोला तरेर घर जाने क्रममा उनीहरुलाई खोलाले बगाएको जानकारी भण्डारीले दिए ।
उनीहरुको खोजीका लागि जिल्ला प्रहरी कार्यालय इलाम र चिसापानी प्रहरी चौकीबाट प्रहरी खटाइएको छ । निरन्तर वर्षका कारण उद्धार कार्यमा समस्या भएको उनले बताए । खोलाले बगाएर शुक्रबार इलाम चुलाचुली गाउँपालिकाकी अञ्चल लावतीको पनि मृत्यु भएको खबर राससले प्रेषित गरेको छ ।