कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका– ३, सहिदगेटस्थित निलम होटल अगाडि बिहीबार शक्तिशाली बम विष्फोट भएको छ । विष्फोटमा ५ जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ ।
विष्फोटबाट बझाङका राम सिंह, बेलौरी– ५, कञ्चनपुरका लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र धनगढी– ४, बोराडाडीका सोही होटल सञ्चालक केशवराज पाण्डे घाइते भएका छन् ।
विष्फोटस्थलबाट प्रहरीले ९ एमएमको पेस्तोल समेत बरामद गरेको बताइएको छ । सिलिन्डर पड्केको सूचना पाएर घटनास्थल पुगेका प्रहरीको प्रारम्भिक अनुसन्धानबाट शक्तिशाली बम विस्फोट भएको थाहा भएको हो ।
घाइतेहरूको स्थानीय मेट्रो अस्पतालमा उपचार भइरहेको बुटवलबाट प्राप्त समाचारमा उल्लेख छ ।