रोजगारीका लागि जापान जानेहरूका निम्ति अक्टोबर २७ र २८ मा भाषा परीक्षा तथा नोभेम्बर ६ र ७ मा सिप परीक्षण हुने भएको छ । पहिलो चरणमा ‘केयर गिभर’ का लागि कामदार जापान लैजान लागिएकाले उनीहरुका लागि भाषा परीक्षा गर्न लागिएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।
भाषा परीक्षा उत्तीर्ण भएकाहरु मात्र सिप परीक्षाका लागि योग्य हुनेछन् । सिप परीक्षा उत्तीर्ण भएको २ महिनाभित्र कामदार जापान पुग्नेछन् । परीक्षाको मिति तोकिए पनि प्रक्रिया कस्तो हुने, पहिलो चरणमा ‘केयर गिभर’ का लागि कति जनशक्ति लैजाने आदिइत्यादि विषयमा टुङ्गो लाग्न बाँकी रहेको मन्त्रालयले जनाएको छ । नेपाली कामदार जापान लैजाने विषयमा नेपालले चैत ११ मा सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार पहिलो चरणमा ‘केयर गिभर’ का लागि जनशक्ति लैजान लागेको हो ।
विभिन्न १४ क्षेत्रमा कामदार लैजाने सम्झौतामा उल्लेख छ । सम्झौतामा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र जापानी राजदूत मासासी ओगवाले हस्ताक्षर गरेका थिए । जापानले दक्षिण एसियाका विभिन्न ९ देशसँग श्रम सम्झौता गरेर एकै पटक कामदार लैजाने बताएको थियो । जापानको मन्त्रिपरिषदले विदेशी कामदारलाई जापान भित्र्याउने नीति गत डिसेम्बरमा पारित गरेपछि नेपाली कामदारलाई पनि जापान जाने बाटो खुलेको हो ।
जापानले नर्सिङ, सरसफाइ, उत्पादनमूलक क्षेत्र, होटल, कृषि, माछा मार्ने तथा खाद्य प्रशोधन आदि क्षेत्रमा विदेशी कामदार लिन खोजेको हो ।