मेघगर्जनसँगै वर्षा हुने क्रममा परेको चट्याङमा परेर मंगलबार बिहान सप्तरीमा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुरुङ्गा नगरपालिका– ३ बस्ने ५५ वर्षीय हरिहर चौधरी र हनुमाननगर कङ्कालिनी नगरपालिका– ११ की ४५ वर्षीया शिवसतीदेवी पण्डित रहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताएका छन् । चौधरीको खेतमै काम गरिरहेको अवस्थामा र पण्डितको खेतबाट घर फर्किने क्रममा चट्याङ् लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चट्याङ् लागेर गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि तत्कालै सप्तऋषि अस्पताल लहान लगिए पनि उपचारका क्रममा उनको मृत्यु भएको छ । खेतमा काम गरिरहेका पतिलाई खाना पुर्याएर घर फर्कने क्रममा चट्याङ् लागेर पण्डितको ज्यान गएको प्रहरी नायब उपरीक्षक रिमालले जानकारी दिएको खबर राससले प्रेषित गरेको छ ।