प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका– १ स्थित सानो डाँफे र शान्तिपुर जङ्गलमा दुई थान भरुवा बन्दुक फेला पारेको छ । केही व्यक्ति जङ्गलमा बन्दुक बोकी हिँडिरहेको भनेर पाएको सुराकका आधारमा जमुनीस्थित प्रहरी चौकीका प्रहरी नायब निरीक्षक कलाधर सापकोटासहितको गस्ती टोलीले पिछा गर्दा ती व्यक्तिहरू बन्दुक छाडी बाँके र बर्दियाको सीमानास्थित मानखोला तरी भागेका थिए ।
बेपत्ता व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बताए ।
जङ्गली हात्तीको आक्रमणमा थारू घाइते
स्थानीय गेरुवा गाउँपालिका– ३, खुटेना बस्ने करिव ७० वर्षीय भरथरे थारूलाई जङ्गली हात्तीले आक्रमण गरी घाइते बनाएको छ । कर्णाली नदीको किनारमा बाख्रा चराउन गएको अवस्थामा जङ्गली हात्तीले आक्रमण गर्दा उनको शरीरका विभिन्न भागमा चोट लागेको थियो ।
पाताभारस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले थारूलाई शान्तिबजारस्थित भेरीमालिका पोलिक्लिनिकमा उपचार गराउन ल्याएकामा उपचार सम्भव नभएपछि नेपालगञ्ज नर्सिङ होममा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोला बताएको खबर राससले प्रेषित गरेको छ ।