चन्द्रपुर नगरपालिका– ९, डुमरियास्थित इँट्टा भट्टाको पोखरीमा डुबेर बुधबार एकै घरका दाजुबहिनीको मृत्यु भएको छ ।
हरिपुर नगरपालिका– ४, स्थायी घर भई डुमरियामा बस्दै आएका सञ्जय साहका ११ वर्षीय छोरा अनिस साह र ८ वर्षीया छोरी कल्पना साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । साह परिवार डुमरियामा मोटरसाइकल ग्यारेज खोलेर बस्दै आएको छ ।
मृतक परिवारका अनुसार, विप्लव नेकपाले आह्वान गरेको बन्दका कारण शैक्षिक संस्था नखुलेपछि इँट्टा भट्टाले बनाएको खाल्डामा जमेको पानीमा खेल्न जाँदा दाजुबहिनीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको शव परीक्षणका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको खबर राससले प्रेषित गरेको छ ।