सरकारले ‘प्रतिबन्ध’ लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले झन्डै ४४ बिगाह जग्गा कब्जा गरी आफ्नो नियन्त्रणमा लिएको बताइएको छ । कैलालीको बर्दगोरिया बौनियाँमा ४ जनाको स्वामित्वमा रहेका घरजग्गा नेकपाले बुधबार कब्जा गरेको हो ।
विप्लव नेतृत्वको नेकपा मातहत ‘जनसरकार’ का रुपमा गठन गरिएको जनपरिषदले जग्गा र घर समेत कब्जा गर्दै पार्टीको झन्डा गाडेको हो । बर्दगोरिया जनपरिषदका प्रमुख अनुकूल नेतृत्वको नेकपा कार्यकर्ताहरुको एक टोलीले राजेन्द्र मल्ल र वीरबहादुर मल्लका नाममा रहेको ३५ बिगाह जग्गा र घर तथा बेदबहादुर मल्लको नाममा रहेको ८ बिगाह जग्गा र घरका साथै सुदूरपश्चिमाञ्चल ग्रामीण विकास बैंकको स्वामित्वमा रहेको १७ कठ्ठा जमिन गरी ४३ बिगाहा १७ कठ्ठा जमिन कब्जा गरेको हो ।
जनयुद्धकालमा तत्कालीन नेकपा (माओवादी) ले यी जग्गा कब्जामा लिएको थियो । तर, शान्ति प्रक्रियाका क्रममा ती जग्गा फिर्ता गरिएका थिए । अहिले जनपरिषदले सोही जग्गा कब्जा गरेर पार्टीको झन्डा र ब्यानर टाँगेको छ । ब्यानरमा जनयुद्धकालमा कब्जा गरिएका ती जग्गा अहिले पार्टीको नीतिअनुरुप नै पुनः कब्जामा लिइएको उल्लेख छ ।