newskoseli.Com

‘चन्द समूहलाई चन्दा नदिनाेस्’ : प्रदेश प्रहरी प्रमुखको ‘आग्रह’ !

प्रदेश– ५ का प्रहरी प्रमुख सुरेशविक्रम शाहले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (उनैका शब्दमा चन्द समूह) लाई ‘चन्दा नदिन’ उद्योगी–व्यवसायीसँग ‘आग्रह’ गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टले ‘चन्दा आतङ्क’ सुरु गरेको भन्दै व्यवसायीको गुनासोपछि उनले ‘राज्यको भरोसा गर्न र चन्दा नदिन’ आग्रह गरेका हुन् । प्रहरी नायव महानिरीक्षक शाहले भने– ‘हामी किन चन्दा दिन्छौं, राज्यको भरोसा छैन ? राज्यभन्दा ऊ ठूलो भयो ? अमूक दललाई सहजै चन्दा दिनुहुन्छ, सेवा र मुनाफा आर्जन गर्ने तपाईं (व्यवसायी) ले चन्दा दिएको पैसा कहाँबाट उठाउनुहुन्छ श्र यहाँनेर प्रश्न उठ्छ, तपाईं–हामी सचेत हुनु जरुरी छ ।’

नेपाल प्रहरी उद्योग व्यवसायको सुरक्षा गर्न तत्पर रहेको उल्लेख गर्दै ‘मर्यादामा रहेर पेशा सञ्चालन गर्न’ समेत उनले आग्रह गरे । उद्योग वाणिज्य सङ्घ नवलपरासीले सोमबार परासीमा आयोजना गरेको औद्योगिक सुरक्षासम्बन्धी छलफलमा बोल्दै प्रहरी नायव महानिरीक्षक शाहले अगाडि भने– ‘उद्योग व्यवसाय भनेको राज्यको मेरुदण्ड हो, तपाईंहरु सबल–सक्षम रहे मात्र राष्ट्रको उन्नति हुन्छ, हामी सधैं सुरक्षा दिन तत्पर छौं ।’

सशस्त्र प्रहरी प्रदेश– ५ का प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक नारायणदत्त पौडेलले खुला सीमानाबाट हुने चोरी–तस्करी तथा अपराध नियन्त्रणमा निरन्तर लागिरहेको बताए । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा रकमको बार्गेनिङ गरेर चोरी–तस्करी मौलाएको भन्ने व्यवसायीको आरोपको प्रतिवाद गर्दै भ्रष्टाचारमा शून्य सहनशीलता अपनाइँदै आएकाले कुनै प्रहरी कर्मचारीले त्यस्तो गरेको पाइएमा खबर गर्न पनि उनले आग्रह गरे । औद्योगिक सुरक्षाका लागि सशस्त्र प्रहरी प्रतिबद्ध भएको उनले बताए ।

उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष केशव भण्डारीले खुला सीमानाका कारण हुने चोरी, तस्करी तथा अपराध नियन्त्रण हुन नसके औद्योगिक वातावरण नबन्ने भएकाले त्यस्ता समस्या न्यूनीकरण गर्न आफूहरु पनि हातेमालो गर्न तयार भएको बताएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर