बत्तीमुनिको अँध्यारो भने झैं राजधानी काठमाडौंकै शंकरापुर नगरपालिकास्थित नाङ्लेभारे क्षेत्र विकासमा अझै पनि निकै पछि परेको छ ।
यस क्षेत्रका पटाप र छापभञ्ज्याङका वस्ती तामाङ जातिको बाहुल्यता रहेका गाउँ हुन् । आजसम्म पनि यहाँका वासिन्दाले सहज रुपमा यातायात सेवा पाउन सकेका छैनन् । साँखु, जरसिंह पौवा हुँदै मेलम्ची पुग्ने सडकखण्डमा बर्खाको समयमा गाडी चल्दैनन् । अरु बेला पनि यो सडको अवस्था उस्तै नाजुक छ । हिलो र खाल्टाखुल्टीले गाडी चलाउन मुश्किल छ । केराघारीका वासिन्दा सवारी साधन प्रयोग गर्न एक घन्टा उकालो चढेर छापसम्म पुग्छन् । यातायातसँगै विद्यालय र स्वास्थ्य चौकीबाट समेत सेवा लिन सहज नभएको बताउँछन् स्थानीयवासी वीरबहादुर तामाङ ।
जहरसिंहपौवाबाट एक घन्टा हिँडेपछि पुगिने वस्ती हो घट्टेकुलो । यहाँका वासिन्दाले यातायातका साधन प्रयोग गर्न हिउँदको समय कुर्नुपर्ने अवस्था छ । गाउँघरमा कोही बिरामी हुँदा बोकेरै जहरसिंहपौवा पुर्याउनुपर्ने अवस्था छ । ‘काठमाडौं भनेर के गर्नु ! बिरामीलाई बोकेरै अस्पताल पुर्याउनुपर्छ, सडक छ– गाडी चल्दैन’– स्थानीय जीतबहादुर तामाङले भने ।
घट्टेकुलोसम्मको सडक मर्मत गरिने बताउँछन् वडाध्यक्ष सन्तबहादुर वाइवा । प्राकृतिक रुपमा रमणीय जहरसिंह पौवासम्म पुग्न निकै कठिन हुन्छ । हिलो र धुलोका कारण पर्यटक हैरान हुने गरेका छन् । चाबहिल–जहरसिंहपौवा सडकखण्डमा ठाउँ–ठाउँमा खाल्टाखुल्टी छन् । ‘भय र त्रासमा यात्रा गर्नुपर्ने अवस्था छ’– सो सडकखण्डमा यात्रा गर्दै आएका सन्तोष चौलागाईंले भने ।
साँखु बजारबाट तीन किलोमिटर उक्लिने बित्तिकै छापभञ्ज्याङका वस्तीमा पुगिन्छ । लप्सेफेदी र नाङ्लेभारेमा बर्खाको समयमा बस चल्दैनन् । ‘बस चढ्न हिउँद नै कुर्नुपर्ने बाध्यता छ’– चौलागाईंले भने । साँखुबाट मेलम्चीसम्मको सडक कालोपत्रे गरिएको थियो । कालोपत्रे गरिएको छ महिना बित्न नपाउँदै सबै उप्कियो । विद्यालय पुग्न समेत एक घन्टा उकालो चढ्नुपर्ने स्थानीयवासी गोमा तामाङले बताइन् । ‘हिँड्न नसक्दा कतिपय बालबालिका विद्यालय जानै मान्दैनन्’– उनले भनिन् ।