मौसम पूर्वानुमान महाशाखाले मनसुनी न्यूनचापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली भइ केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
आगामी २४ घन्टामा देशका केही स्थानमा मेघगर्जन र चट्याङसहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । सोही कारण पहाडी भागमा पहिरो जान सक्ने तथा साना र मझौला नदीमा पानीको बहाब बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
मंगलबार दिउँसो देशभर बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ भने राति पश्चिमी भागमा आंशिक तथा पूर्वी र मध्य भागमा सामान्य बदली रही पूर्वी, मध्य र पश्चिमका केही स्थानमा वर्षा हुने सम्भावना छ । बुधबार दिउँसो देशभर बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षा तथा पूर्वी तराईका केही क्षेत्रमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ । बुधबार राति देशभर बदली रही पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ । पूर्वी तथा मध्य तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बिहीबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ । बिहीबार राति देशभर बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ । पूर्वी भूभागका एक–दुई स्थानमा भरी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।