नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ, प्रिपेड कार्ड, इन्टरनेट बैंकिङलगायत विद्युतीय माध्यमबाट गरिने भुक्तानीसम्बन्धी कारोबारको नयाँ सीमा निर्धारण गरेको छ । भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिप्राप्त संस्थालाई नेपाल राष्ट्र बैंकले बिहीबार सर्कुलर जारी गर्दै सीमा निर्धारणको नयाँ व्यवस्था लागू गर्न निर्देशन दिएको हो ।
केन्द्रीय बैंकले जारी गरेको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनअनुसार डेबिट कार्डबाट प्रतिदिन १ लाख रुपैयाँ मात्र निकाल्न पाइनेछ । प्रतिकारोबार भने २५ हजार रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै, प्रिपेड कार्डबाट न्यूनतम ५ सय रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म दैनिक रूपमा निकाल्न पाइनेछ । बैंकहरूले प्रिपेड कार्ड जारी गर्दा एक पटकमा अधिकतम १ लाख रुपैयाँसम्मको कार्ड जारी गर्न सक्ने व्यवस्था गरिएको छ ।
क्रेडिट कार्डबाट नगद कारोबार गर्न नपाइने भए पनि ग्राहकलाई अत्यावश्यक भएको अवस्थामा क्रेडिट कार्डको स्वीकृत सीमा रकमको १० प्रतिशतसम्म नगद झिक्न पाइने व्यवस्था गरिएको छ । क्रेडिट कार्डबाट नगद कारोबार गरी कार्डबाट प्रयोग भएको रकम भुक्तानी गर्ने समय समाप्त नहुँदै कार्डमा भएको रकमको सीमा समाप्त भएको अवस्थामा यस्तो रकम बैंकमा जम्मा गरी समयावधि अगावै तोकिएको सीमासम्मको नगद झिक्न सकिने व्यवस्था मिलाइएको छ ।
मोबाइल बैंकिङ गर्दा प्रतिदिन अधिकतम ५० हजार रुपैयाँसम्मको कारोबार गर्न पाउने व्यवस्था गरिएको छ । कारोबारको बिल वा विवरण प्राप्त हुने अवस्था बाहेक मासिक २ लाख रुपैयाँभन्दा बढीको भुक्तानी गर्न भने पाइने छैन । यसको सीमा यसअघि १ लाख रुपैयाँसम्म मात्रैको थियो । मोबाइल बैंकिङ सेवाअन्तर्गत क्यूआर कोडको माध्यमबाट भुक्तानी तथा रकमान्तर गर्दा पनि यसै अनुसार गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यसैगरी, इन्टरनेट बैंकिङको माध्यमबाट भुक्तानी कारोबार गर्दा प्रतिदिन अधिकतम १० लाख रुपैयाँसम्मको कारोबार गर्न पाइने भएको छ । मासिक रूपमा अधिकतम ३० लाख रुपैयाँभन्दा बढीको भुक्तानी कारोबार गर्न नपाइने राष्ट्र बैंकको एकीकृत निर्देशनमा उल्लेख रहेको खबर शुक्रबारको राजधानी दैनिकमा प्रकाशित छ ।