लड्दैथ्यो कलिलो मुटु पनि कठै आमा थिइन् बेडमा
भन्छन् बालक दर्दले अझ कठै बाँचिन्न रे नि मुमा !
बोल्दैनौ ‘भगवान्’ हे भन तिमी यस्तो यहाँ के भयो
कस्तो दण्ड दियौ छ बालक पनि खै दोष के नै थियो ?
सारा वृद्ध बुबा–मुमा पनि अहो मार्दैछ यो रोगले
प्यारा ती चिचिला भुरा त टुहुरा पार्दैछ यो रोगले
आगो बल्दछ दन्दनी किन जतै सल्केर यै रोगको
खोलो बग्दछ लौ जतै किन अहो ! पीडा र त्यो शोकको ।
के लेखौं अब हे म आज कसरी देखेर यो शोकमा
बिन्ती यै ‘भगवान्’ हे मनुजको हाँसो रहोस् ओठमा
देखेरै मन यो सिरिङ्ग अझै त्यो रोएको बालक
सारा यो जगतैभरि पनि अहो ! त्यै रोगको त्रास छ ।
छैनन् रे उपचार क्यै पनि कतै मर्दैछ त्यो जिन्दगी
भक्कानिन्छ मुटु कयौं अब जतै कस्तो चल्यो हुन्डरी
जोड्दै यी करले सु–स्वच्छ मनले गर्नै छ यै प्रार्थना
बाँचून् धड्कन ती सबै मनुजको मुस्कानका साथमा ।
सक्छौं बाँच्न र गर्न हे अब यहाँ जागौं सबै साक्षर
कालो रोग छ यो हटाउन छिटै लागून् सबै डाक्टर
हल्ला होइन है मजाक नगरौं बाँच्नै छ यो जीवन
लागौं है सबले बचाउन यहाँ प्यारो छ यो धड्कन ।
बाँचून् है सब ती युवा र महिला, ती वृद्ध ती बालक
लेख्दै यी कविता म माग्दछु यही जाति रहून् है सब
हल्लामा नकुदौं संरक्षक बनौं हाँस्नै छ यो जीवन
लागौं है अब भई सचेत जनता यो रोग मेटाउन ।
माई नगरपालिका, दानाबारी, ईलाम