newskoseli.Com

स्थायी कमिटीका २० सदस्यको बेग्लै बैठक : सचिवालयले नसकेको एजेण्डा धुम्बाराहीमा निर्धारित !

बिहीबारका लागि बोलाइएको सत्ताधारी नेकपाको स्थायी कमिटीको बैठक बुधारै स्थगित भएको र अर्को मिति समेत अनिश्चित भएको सन्दर्भमा यसअघि नै अध्यक्षद्वयलाई पत्र लेखेर बैठक माग गर्ने २० जना नेताहरुले बिहीबार पार्टी मुख्यालय धुम्बाराहीमा बैठक गरे ।

२० वैशाखको सचिवालय बैठकले २५ वैशाखका लागि स्थायी कमिटीको बैठक बस्ने भनी मिति, समय र स्थान समेत निर्धारित गरिसकेर पनि अन्तिम समयमा बैठक स्थगित गरी अन्योलग्रस्त बनाएको भन्दै बैठक माग गर्ने ४४ सदस्यीय स्थायी कमिटीका २० सदस्यले बिहीबार छुट्टै बैठक गरेका हुन् ।

सो पार्टीको विधानमा २५ प्रतिशत सदस्यले बैठक माग गरे १५ दिनभित्र बैठक राख्नेपर्ने व्यवस्था छ । तर, आफूहरुले लिखितरुपमै बैठकको माग गरे तापनि १५ दिन घर्किसक्दा समेत बैठक नबोलाइएको र अझै कहिले हुने भन्ने ठेगान समेत नभएको भन्दै नेतृत्वप्रति असन्तुष्टि जनाएका छन् ।

बिहीबारको स्टायी कमिटी बैठकको कार्यसूची तयार पार्न बुधबार बसेको सचिवालयको बैठकमा शीर्ष नेताहरुबीच कुरा नमिलेपछि र आफूविरुद्ध सचिवालय र स्थायी कमिटीमा स्पष्ट बहुमत देखिएपछि प्रधानमन्त्री समेत रहेका अध्यक्ष खड्ग ओली जसरी भए पनि बैठक टार्ने प्रयासमा लागेका थिए । स्थायी कमिटीको बैठक राख्नेबारे सचिवालय अनिर्णीत भएपछि ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बुधबारै छलफल समेत भएको थियो । सो छलफलमा समेत सहमति नजुटेपछि स्थायी कमिटीको बैठक स्थगित भएको हो ।

प्रधानमन्त्री ओलीले बजेटअघि स्थायी कमिटीको बैठक नराख्ने गरी प्रयास गरिरहेका छन् । बिहीबार धुम्बाराहीमा बैठक गरेका २० नेताबीच सदस्यबीच मंगलबार पनि झम्सीखेल, ललितपुरमा छलफल भएको थियो । सो छलफलमा प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति चर्को आलोचना गर्दै उनको राजीनामासम्मको प्रस्ताव स्थायी कमिटीका सदस्य भीम रावलले अघि सारेका थिए । त्यसको सूचना पाएका प्रधानमन्त्री ओली त्यसपछि झन् बैठक टार्न कम्मर कसेर लागेका थिए ।

सचिवालयले स्थायी कमिटी बैठकका एजेण्डा तय गर्न नसकेकाले एजेण्डा दिन आफूहरुले छलफल गरेको २० नेताहरुको समूहले जनाएको छ । पार्टी र सरकारका कामको समीक्षा, कोरोना संकट, पार्टी एकताका बाँकी काम, विदेशमा रहेका नेपालीहरुका समस्या र उद्दारलगायतका एजेण्डा निर्धारित गरेर तिनै विषयमा छलफल गरी निर्णय लिन तत्काल स्थायी कमिटीको बैठक बोलाउनुपर्ने निस्कर्ष बिहीबारको बैठकमा उनीहरुले निकालेका छन् ।

यो पनि पढ्नुहोस्–
रिसाएर बैठकबाटै हिँडिदिए खड्ग ओली : नेकपाको स्थायी कमिटी बैठक अनिश्चित

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर