नेपाल प्रेस युनियन चितवन शाखाले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै कार्यक्षेत्रमा खटिएका सबै पत्रकारको तत्काल पीसीआर परीक्षणको व्यवस्था मिलाइदिन माग गरेको छ । युनियनका जिल्ला अध्यक्ष अनिल ढकालको नेतृत्वको टोलीले भट्टराईलाई बुधबार ज्ञापनपत्र बुझाएको हो ।
‘नेपालमा कोभिड– १९ देखिएसँगै यहाँका पत्रकारले प्रत्यक्षरुपमा कार्यक्षेत्रमा खटिएर काम गरिरहेको सर्वविदितै छ,’ ज्ञापनपत्रमा भनिएको छ– ‘कार्यक्षेत्रमा खटेर काम गरिरहेका पत्रकारको तत्काल पीसीआर परीक्षणको व्यवस्था मिलाइदिनुहुन अनुरोध छ ।’ समयमा नै परीक्षण भएमा सङ्क्रमण देखिइहाले ती व्यक्तिबाट धेरै फैलन नपाउने र निर्धक्कसँग काम गर्ने वातावरण सिर्जना हुने कुरा ज्ञापनपत्रमा उल्लेख छ ।
जिल्लाका पत्रकारलाई सम्बन्धित संस्थाले दिएको परिचयपत्रकै आधारमा हिँडडुल गर्न पाउने गरी सुरक्षा निकायमा आवश्यक निर्देशन दिन र पत्रकारको सुरक्षा गर्न पनि ज्ञापनपत्रमा माग गरिएको छ । प्रमुख जिल्ला अधिकारी भट्टराईले ज्ञापनपत्र बुझ्दै युनियनको मागप्रति आफू सकारात्मक रहेको बताए । कार्यक्षेत्रमा खटिएका पत्रकारको छिट्टै पीसीआर परीक्षण गरिने उनले बताए । आफू पनि सुरक्षित भएर काम गर्न र सबै पत्रकारलाई सन्देश प्रवाह गरिदिन समेत उनले आग्रह गरेको खबर राससले प्रेषित गरेको छ ।