उरालेर नसामा
विस्तारवादी छालहरु
ताकेर मेरो कालीको शिर
तिमी आइपुगेछौ
ठीक मेरो आँगनमा ।
विश्व बन्दाबन्दीको
कोरोना कहरमा
तड्पिरहेका बेला
जब चोइट्यायौ हाम्रो अस्तित्व
जब टुकर्यायौ हाम्रो अस्मिता
जब धुज्यायौ हाम्रो मानचित्र
जब गुडायौ अभिमानको कारगेड
तब नै उम्लेको हो
यो गोर्खाली रगत
र, लम्केका हुन् अथक पाइला
कालीको सक्कली शिरतर्फ ।
विछ्याएर नक्साको चकटी
खेले होलान् भाँडाकुटी कुनै दिन
वारिपारिकै सामन्ती शासकहरुले
र, डुबे होलान् चुर्लुम्म
स्वार्थको गन्धे आहालमा
बेसरम, बेरोकटोक ।
गाडेर इतिहास,
अन्यायको गर्तमा
नचुल्याऊनू पहाड
पाखण्डी प्रथाको
महोदय !
पार गरेर अनेकन् तारेभीर
छिचोलेर अनकन्टार गल्छेंडा
लेख्नलाई देशको गाथा
देख्नलाई पूर्खाले आर्जेको मानचित्र
ढिलै भए पनि
आइपुगेको छु
टेक्नलाई मेरो आफ्नै भूगोल
महोदय !
हात लिएर आएको छु
हतियार होइन
हाँसो लिएर आएको छु
हँसिया होइन
तिमीलाई पक्कै थाहा हुनुपर्छ
ढिलै भए पनि
म आइपुगेको छु
पहिल्याउँदै मेरा पूर्खाका पदचापहरु ।