newskoseli.Com

माधव नेपाल र महन्थ ठाकुरका पार्टीले पाए दलको वैधता

नेकपा (एमाले) बाट विभाजित भई माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) बाट विभाजित भई महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि २ भदौमा दिइएका बेग्लाबेग्लै निवेदन र वर्तमान कानुनी व्यवस्थाअनुसार संघीय संसद् वा केन्द्रीय समितिमा आवश्यक संख्या भए–नभएको सम्बन्धमा बुधबार भएको सनाखतका आधारमा बुधबार अबेर दुवै दलले निर्वाचन आयोगबाट वैधता प्राप्त गरेका छन् ।

दुवै दललाई आयोगले बुधबार दर्ता प्रमाणपत्र समेत दिइसकेको छ । राजनीतक दलसम्बन्धी ऐनमा संघीय संसद् र केन्द्रीय समिति दुवैतिर ४०–४० प्रतिशत भएमा मात्र अलग हुने दलले बेग्लै मान्यता पाउने प्रावधान थियो । तर, सरकारले हालै संघीय संसद् वा केन्द्रीय समितिमध्ये जता भए पनि २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न पाउने गरी राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेश ल्याएपछि एमालेका ५८ केन्द्रीय सदस्यले नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए । उनीहरुमध्ये ५६ जनाले बुधबार आयोगमा उपस्थित भएर सनाखत गरे । दल दर्ताका लागि निवेदन दिँदा नाम समावेश भएका केन्द्रीय सदस्यद्वय भास्कार काफ्ले र रविन कोइराला भने सनाखतका लागि आयोगमा गएनन् ।

त्यस्तै एमालेका ३४ जना संघीय सांसदले पनि नेकपा एकीकृत समाजवादी रोजेका छन् । तीमध्ये २९ जना र भारतबाटै सनाखत गरेका वरिष्ठ नेता झलनाथ खनाल गरी ३० जना सांसदको सनाखत भएको छ भने एमाले छाडेर एकीकृत समाजवादीमा आएको भन्दै मंगलबार मात्र निवेदन दिएका चार जनाले सनाखत गर्न पाएनन् । उनीहरुको हकमा आयोगले उपयुक्त निर्णय गर्ने विश्वास लिइएको एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले बताएका छन् ।

अब प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई एमाले वा समाजवादी रोज्न २१ दिनको समय दिइनेछ । तत्कालीन नेकपा भंग गराएर एमाले र माओवादी केन्द्र ब्युँताउने २३ फागुन, २०७७ को सर्वोच्च अदालतको फैसलापछि एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षले लगातार समानान्तर गतिविधि गर्दै आएको थियो । यो पक्षमा रहेका स्थायी कमिटीका १० सहित केन्द्रीय कमिटी र संघीय सांसदहरुको एउटा हिस्सा भने एमालेमै रहने भएको छ ।

त्यसैगरी, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी पनि बुधबारै आयोगमा दर्ता भएको छ । आयोगमा पुगेर उक्त समूहका १४ सांसदले सनाखत गरेकाले आयोगले लोसपालाई पनि छुट्टै दलका रुपमा दर्ता गरेको हो । नेकपा (एकीकृत समाजवादी) को राजनीतिक दल दर्ता नम्बर १६६ र लोकतान्त्रिक समाजवादी पार्टीको राजनीतिक दल दर्ता नम्बर १६७ रहेको छ ।

यो पनि पढ्नुहोस्–
एकीकृत समाजवादीका पक्षमा सनाखत गर्ने ५५ केन्द्रीय सदस्य र ३४ सांसद (नामावलीसहित)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर