भारतमा कोरोना भाइरसबाट थप ६ हजार ३ सय ५८ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । गत २४ घण्टामा थपिएका सङ्क्रमितहरु मध्ये ६५३ जना ओमिक्रोन भेरियन्टका रहेका छन् । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ७५ हजार ४ सय ५६ रहेको छ । अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या कूल सङ्क्रमितको सङ्ख्याको ०.२२ प्रतिशत मात्रै रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको यो संख्या सन् २०२० मार्चपछि सब भन्दा कम भएको समाचारमा जनाइएको छ ।
गएको २४ घण्टामा भारतमा ६ हजार ४ सय ५० जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरू भएयता हालसम्म तीन करोड ४२ लाख ४३ हजार ९ सय ४५ जनालाई कोरोना सङ्क्रमण निको भएका छन् । भारतमा कोरोना भाइरस निको हुने दर ९८.४० प्रतिशत रहेको जनाइएको छ । यो सङ्ख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी भएको समाचारमा जनाइएको छ ।
सोही अवधिमा थप २९३ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार लाख ८० हजार २ सय ९० पुगेको मन्त्रालयले थप जानकारी दिएको छ । भारतमा कोरोना सुरू भएदेखि हालसम्म ६७ करोड ४१ लाख भन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरू भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ४२ करोड ४६ लाख ८१ हजार ७ सय ३६ भन्दा बढी डोज खोप लगाइएको जनाइएको छ ।