newskoseli.Com

भृकुटीमण्डपमा असोज १७–१९ मा ‘हिमालयन इन्टरनेसनल एक्स्पो’

नेपाली हस्तकला व्यवसायलाई विश्वव्यापीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले असोज १७ देखि १९ सम्म हिमालयन इन्टरनेसनल एक्स्पो आयोजना हुँदैछ । घटस्थापनाका दिनदेखि आरम्भ हुने एक्स्पोमा नेपाली हस्तकलाका दर्जनौं उत्पादनहरु समावेश हुनेछन् ।

राजधानीको भृकुटीमण्डपमा आयोजना हुन लागेको एक्स्पोमा अल्लो, सिस्नो, केरा, बाँस, केतुकी, भुइँकटहरलगायतका कृषि उपजको प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादनलगायतका व्यापारिक कक्ष हुनेछन् । पश्मिना, स्टोन, माला, क्युरियाका सामा, गलैंचा, गार्मेन्टका सामान, सिसा, पाइप, नेपाली कागज, मूर्तिकला, धातुकला, काष्ठकला, फेल्ट, गरगहना, ह्याण्डमेड पेपरहरु, पेपर प्याकेजहरु, नेपाली ढाका, कार्पेट, जडीबुटी, सजावटका सामान, पर्यटन उद्योगसँग सम्बन्धित सेवा पनि एक्स्पोमा समावेश हुने आयोजक पक्षले जनाएको छ ।

‘नेपाली उत्पादनको निर्यात बढाएर देशलाई आर्थिक समृद्धिको दिशातर्फ अगाडि बढाउन यस प्रदर्शनीमार्फत सहयोग पुर्‍याउनु हाम्रो उद्देश्य हो,’ अध्यक्ष कपिल अधिकारी भन्छन्– ‘प्रदर्शनीमा सयौं विदेशी व्यापारी तथा खरिदकर्ता, खासगरी अमेरिका, क्यानडा, युरोप, चीन, भारतलगायतका देशबाट आउने अपेक्षा गरिएको छ ।’

एक्सपोमा सयभन्दा बढी स्टलहरु रहनेछन् । नेपाली हस्तकलाको प्रवर्द्धनमा लामो समयदेखि क्रियाशील हिमालयन एक्स्पोले देशबाहिरका विभिन्न मुलुकमा समेत यस्तै मेलाहरू आयोजना गर्दै आएको छ । नेपाली उत्पादनलाई विश्व बजारमा सुलभ तरिकाले पुर्‍याउने उद्देश्यले अमेरिकाका विभिन्न राष्ट्रमा एक्स्पो सम्पन्न भइसकेका छन् ।

यो एक्सपोपछि ३१ जनवरीदेखि २ फेब्रुअरीसम्म लासभेगसमा र अप्रिल ४–६ मा लसएन्जलसमा एक्स्पोहरू आयोजना हुँदैछन् । क्यानडा, बेलायतलगायतका देशमा पनि प्रदर्शनी आयोजना गर्ने लक्ष्य रहेको आयोजकको भनाइ छ ।

बी–टु–बी मोडलमा हुने हिमालय इन्टरनेसल एक्स्पो नेपालमा हस्तकला प्रदर्शनीको सबैभन्दा ठूलो प्रदर्शनी भएको बताइएको छ । व्यापार कक्षमा विश्वका विभिन्न मुलुकबाट क्रेताहरू आउने गर्दन् । हस्तकला उद्योगको प्रदर्शन र प्रवर्द्धन गरी नेपाली उत्पादनलाई विश्व बजारमा चिनाउनु नै हिमालयन एक्स्पोको उद्देश्य हो । हस्तकलासँग सरोकार राख्नेका लागि लगानी र व्यापारको अवसर सिर्जना गर्नु यस एक्स्पोको खास उद्देश्य रहेको आयोजकको भनाइ छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर