बादल झैं सुलसुल
शैलुङबाट झरिरहेछु
दोरम्बाका वस्तीहरूतिर
मन सीमित हुन्छ
यात्रामा
निष्कलङ्क मानिसहरूमाथि
गुलेली एकाएक वर्षन्छ
असिना झैं
आँखा ओझेल हुन चाहन्न
चेहरा मलिन हुन्छ
दोरम्बाका विभूतिहरूसँगै
हाँसो रोकिन्छ
आकाङ्क्षाहरूका सिमलहरू
भुरुरु–भुरुरु उड्छन्
छाती फुटेर बग्छन्
नदी झैं रगतहरू
कम्युनिस्ट युवक रुन्छ
शैलुका गुराँस झैं
हुस्सुका तालहरू
छट्पटिइरहेका छन्
दोरम्बाका विभूतिहरू सम्झेर
बिजुली झैं चम्किएका
राता युवा–युवतीहरू
मिठा सपना बोकेर
टाकुराहरू चढिरहेछन्
तामाकोशीका ताता बाफहरूसँग
पौंठेजोरी खेलेर
सुनकोशी झरिरहेका
श्रृङ्खलाबद्ध लामा पाइला चालेर
बिष्फोटित हुन आतुर
दोरम्बाका सपनाहरू
अहिले पग्लिरहेछन्
मिठो हिउँ झैं
म पचाउन सक्तिनँ
यतिबेला
भयानक बिष्फोटको पर्खाइमा
भँगेरीहरू छन्
मन
अतालिन्छ, कहालिएर
ब्युँझेको छ
नायकहरूमा
निकै शिथिलता आएकाले
दोरम्बा टुहुरो भएको छ
साँच्चै
छताछुल्ल भएर
कविता बगिरहेछ
म
हस्याङफस्याङ गरिरहेछु
राता पाइलाका बीच
दोङका मालिक्नीहरू
खासखुस गरिरहेछन्
थोकरहरू थाङ्कामा भिजिरहेछन्
यतिबेला कलम सुसेलीरहेछ
साहस गर्दै
दोरम्बाका विभूतिहरूका
मूर्ति कुँदिरहेछ
उनीहरू कविता भएका छन्
रमणका स्वरहरूमा
रमण भन्छ
सोल्टीनीहरू औंलो उघार
युवाहरू हो ! अर्चाप हतियार
तन्नेरी हो ! मशाल बोक
माक्र्सका सपना पूरा गर्न
दोरम्बा आएका
आऊ हामीसँगै मैदान जाऊँ
हाम्रा विभूतिलाई स्यालुट गर्दै
कम्युनिस्ट अभियानमा
सिक्री खोलेर आऊ
दोरम्बाका साथीभाइ हो ।