newskoseli.Com

एनसेल नेपालबाटै भाग्नुपर्ने माओवादी नेताको चेतावनी

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका एक वरिष्ठ नेताले आफूहरुले नै कारबाही गर्नुपरे एनसेल नेपालबाट भाग्नुपर्ने अवस्था आउने चेतावनी दिएका छन् । आइतबार राजधानीको संवाद डबलीमा आयोजित अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी स्थायी समितिका सदस्य धर्मेन्द्र बास्तोलाले त्यस्तो चेतावनी दिएका हुन् ।

एनसेलले एकैसाथ नेपाली जनतालाई लुटिरहेको र राज्यलाई छलिरहेको आरोप लगाउँदै उनले भने– ‘एनसेलले महँगो शुल्क तर गुणस्तरहीन सेवा दिएर जनतालाई लुटेको छ भने तिर्नैपर्ने कर नतिरेर राज्यलाई ठगेको छ ।’

देशभक्त संघीय जनवादी मोर्चाले आयोजना गरेको ‘एनसेलः वास्तविकता र भ्रम’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै बास्तोलाले नेपालको कानुनले दलाल पुँजीपतिको रक्षा गर्ने भएकाले सोही ऐनको आडमा एनसेलले राज्यलाई कर नतिरेको बताए ।

‘नेपालको कानुन दलाल वर्गको रक्षा गर्न निर्माण गरिएको हो त्यसैले एकाधिकार पुँजीपति वर्गले जनता लुटिरहेको छ’ उनले भने । केही दिनअघि देशका विभिन्न ठाउँमा अवस्थित एनसेल टावरहरुमाथिको आक्रमणतर्फ संकेत गर्दै माओवादी नेता बास्तोलाले आफ्नो पार्टीले एनसेलमाथि कार्बाही नगरेको उल्लेख गरे । तर, आफ्नै पार्टीको आह्वानमा एनसेलमाथि जनताले कार्बाही गरेको उल्लेख गर्दै उनले आफ्नो पार्टीले नै कार्बाही गर्नुपर्ने अवस्था आए एनसेलले नेपालबाट भाग्नुपर्ने अवस्था आउने चेतावनी दिए ।

कार्यक्रममा प्रस्तुत अवधारणामाथि टिप्पणी गर्दै बास्तोलाले एनसेलका टावर मात्र होइन, टाउकामाथि बम हान्नुपर्ने अवस्था आएको बताए । ‘एनसेलका टावरमाथि मात्र होइन, जनतालाई लुट्नुपर्छ भन्ने चिन्तनलाई भत्काउन टाउकोमा बम हान्नुपर्छ’ उनले भने ।

बास्तोलाले आफ्नै पार्टीको नेतृत्वमा बनेको नयाँ सत्ता र कानुनलाई समेत एनसेल र यस्ता कम्पनीले कर तिर्नुपर्ने दावी गरे ।
एनसेलजस्ता बहुराष्ट्रिय कम्पनीले अन्य देशमा जस्तै नेपालमा पनि कानुनको पालना गर्नुपर्ने बताउँदै बास्तोलाले एनसेलले तिर्न बाँकी ४३ अर्ब कर नतिरे अहिलेभन्दा गम्भीर क्षति भोग्नुपर्ने चेतावनी दिए ।

कम्युनिस्ट न्युक्लिअसका संयोजक हेमन्तप्रकाश ओलीले एनसेल ‘दलाल कम्पनी’ भएकाले नेपालका ‘दलाल नेताहरुलाई खरिद गरेर लूट मच्चाइरहेको’ आरोप लगाए ।

एनसेलले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई खरिद गरेकाले ५३ अरब राजश्व नतिरेर बसेको आरोप ओलीले लगाए ।

‘एनसेलले राज्यलाई कर नतिरेकामा देखिएको जनआक्रोशविरुद्ध प्रधानमन्त्री केपी ओली र प्रचण्डले जसरी सुरक्षा निकाय परिचालन गरे, त्यसले के देखायो भने उनीहरुलाई एनसेलले खरिद गरिसकेको छ’ ओलीले भने । एनसेललाई बाँकी ४३ अर्ब कर तिराउनुपर्ने उनको विचार थियो ।

नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य रत्नदास जोशीले नेपालको कानुन नमान्ने एनसेलजस्ता बहुराष्ट्रिय कम्पनीविरुद्ध एक भएर आन्दोलन गर्नुपर्ने बताए । उनले एनसेलमाथिको ‘कार्बाही’ ठीक भएको बताउँदै अझै राज्यलाई कर नतिरे आक्रोश बढ्न सक्ने बताए ।

प्रा.डा. गोपाल सिवाकोटी ‘चिन्तन’ ले एनसेलले सेवा शुल्कअनुसार गुणस्तरीय सेवा नदिएर लुटिरहेको भन्दै राज्यलाई कर नतिरेर दादागिरी देखाइरहेको बताए । एनसेललाई राज्यले करको दायरामा ल्याउन नसके जनता आफैं जुट्ने उनले बताए ।

‘एनसेलले सेवा शुल्कअनुसारको गुणस्तरीय सेवा दिइरहेको छ वा छैन राज्यले नियमन नगरे, कर तिराउन नसके जनताले कानुन हातमा लिन्छन्, यो जनताको अधिकार हो’ चिन्तनल भने ।

राज्यले कानुनी राज लागू नगर्दा जनयुद्धका क्रममा जनताले कानुन हातमा लिएको भन्दै एनसेललाई राज्यले कर तिराउन नसके त्यो जिम्मा जनताले लिने चिन्तनले बताए । विकसित देशहरुमा सेवा शुल्कअनुसारको गुणस्तरीय सेवा दिन नसके वा अवरोध भए क्षतिपूर्ति तिर्नुपर्ने कानुनको पालना गर्दै आए पनि नेपालमा त्यो पालना नभएको उनले बताए । विदेशी लगानी ल्याउने लूट मच्चाउन नभएको उनको धारणा थियो ।

कार्यक्रममा नेकपा माओवादीका केन्द्रीय सदस्य गुणराज लोहनीले ‘एनसेलः वास्ताविकता र भ्रम’ शीर्षक कार्यपत्र प्रस्तुत गरेका थिए । उनले कार्यपत्रमा एनसेलबारे विस्तृत जानकारीसहित ‘एनसेलले जनतालाई यसरी ठग्छ’ भन्ने दावी प्रस्तुत गरेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर