newskoseli.Com

विद्यालय जाँदा शिक्षकले झोला बोक्नैपर्ने

गोरखाका सरकारी विद्यालयमा पढाउँदै आएका शिक्षकले विद्यालय जाँदा अनिवार्यरुपमा झोला बोक्नुपर्ने भएको छ । शिक्षकले दिनहुँ विद्यालय पोसाक र शैक्षिक सामग्री भएको झोला बोक्न जिल्ला शिक्षा कार्यालयले निर्देशन दिएको हो ।

डायरी, सन्दर्भ सामग्री र आवश्यक शैक्षिक सामग्री राख्न सजिलो बनाउन शिक्षकलाई झोला दिइएको जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीले बताए ।

विद्यालयमा शिक्षाको गुणस्तर उकास्न शैक्षिक सामग्रीको प्रयोग र विषयवस्तुप्रति पूर्वतयारीका लागि आवश्यक सामग्री राखेर झोला बोक्न लगाइएको हो ।

विद्यार्थीको गुणस्तर सुधारका लागि विनियोजन गरिएको बजेटले शिक्षकले झोला खरिद गर्न पाउने सुवेदीको भनाइ छ । विद्यालयले पाउँदै आएका शैक्षिक अनुदान र प्रशासनिक खर्चबाट पनि झोला खरिद गर्न सकिने उनले बताए ।

विद्यालयका प्रअहरुले झोला खरिद गरेर सबै शिक्षकलाई वितरण गर्न सुरु गरेका छन् । “शैक्षिक सामग्री राख्न झोला वितरण गरेपछि बिनातयारी कक्षाकोठामा जाने शिक्षक निरुत्साहित हुन्छन् र शिक्षाको गुणस्तर बढ्छ भन्ने हाम्रो विश्वास छ” – जिशिअ सुवेदीले भने ।

शिक्षकले झोला बोके÷नबोकेको र आवश्यक शैक्षिक सामग्री, सन्दर्भ सामग्रीको प्रयोग गरे÷नगरेको अनुगमन गरिने शिक्षा कार्यालयले जनाएको छ । गोरखाका चारसय ५७ वटा सरकारी विद्यालयमा दुई हजार छ सय २३ जना शिक्षक कार्यरत रहेका छन् ।

झोला बोकेपछि शिक्षक थप जिम्मेवार हुन्छन् भन्ने अपेक्षा गरिएको जिशिअ सुवेदीको तर्क छ । साथै, विद्यालय पोसाक अनिवार्य रुपमा लगाउन शिक्षकलाई निर्देशन दिइएको पनि उनले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर