newskoseli.Com

गोठदेखि ओठसम्मै स्वच्छ–सफा दूध !

पशुपंक्षी विकास मन्त्रालयले आफ्ना ४० बुँदे प्रतिबद्धतामध्येको ‘गोठदेखि ओठसम्म स्वच्छ तथा स्वस्थ दूधको उपलव्धता’ भन्ने प्रतिबद्धतालाई व्यवहारमा लागू गर्ने प्रयास थालेको छ ।

यही प्रतिबद्धतालाई केन्द्रमा राखेर मन्त्रालयले मातहतको केन्द्रीय गाईभैंसी प्रबर्द्धन कार्यालयमार्फत राजधानीका ३ वटै जिल्लामा सप्ताहव्यापी (असार ८ देखि १४ सम्म) डेरी पसलहरुको अनुगमन कार्यक्रम सम्पन्न गरेको छ ।

मंगलबार पुल्चोकस्थित पशु सेवा विभागअन्तर्गतको केन्द्रीय गाईभैंसी प्रबर्द्धन कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार राज्यमन्त्री, सचिव, सहसचिव, ३ वटै जिल्लाका प्रशासन तथा सरोकारवालाहरु सहितको टोलीले काठमाडौंका ५१, ललितपुरका ४३ र भक्तपुरका ५२ गरी १ सय ४६ डेरी पसलहरुमा अनुमगन गर्यो ।

पत्रकार सम्मेलनमा सम्बोधन गर्दै मन्त्रालयका सहसचिव विजयकान्त झाले व्यवसायीहरुलाई हतोत्साहित पार्ने, उनीहरुमाथि कारबाही गर्ने वा कसैलाई आतंकित पार्ने उद्देश्यले नभई अबस्था बुझ्ने र निरन्तर अनुगमनको थालनी गर्ने हिसाबले मुलुकमै पहिलो पटक डेरी पसलहरुको अनुगमन गरिएको बताए ।

सहरी क्षेत्रमा मात्र केन्द्रित नरही ग्रामीण तहसम्म पुगेर दूधको उत्पादन, भण्डारण, ढुवानी, प्रशोधन र वितरणसम्बन्धी क्रियाकलापहरुलाई गोठदेखि ओठसम्मै व्यवस्थित गरिने झाको भनाइ छ ।

कार्यालयका तर्फबाट डा. रेशमराज ज्ञवालीद्वारा प्रस्तुत संक्षिप्त प्रगति प्रतिवेदनमा उल्लेख गरिएअनुसार अनुगमनका क्रममा काठमाडौंमा ७ वटा राम्रो अवस्थाका, २० वटा मध्यम अवस्थाका र २४ वटा कमसल अवस्थाका डेरी पसल भेटिए ।

त्यसैगरी अनुगमनका क्रममा ललितपुरमा एउटै राम्रो अवस्थाका पसल नभेटिएको र २६ वटा मध्यम अवस्थाका तथा १७ वटा कमसल अवस्थाका डेरी पसल फेला परेको प्रतिवेदनमा उल्लेख छ ।

अनुगमन गरिएका भक्तपुरका ५२ डेरी पसलहरुमध्ये ४ वटा राम्रो अवस्थाका ३५ वटा मध्यम अवस्थाका र १३ वटा कमसल अवस्थाका पाइएको प्रतिवेदनमा जनाइएको छ ।

प्रतिवेदन प्रस्तुत गर्दै डा. ज्ञवालीले अनुगमनका क्रममा संकलन गरिएका नमूनाहरुलाई प्रयोगशाला परीक्षणका निम्ति केन्द्रीय खाद्य प्रयोगशाला, लाइभस्टक गुण व्यवस्थापन प्रयोगशाला, भेटेनरी स्वास्थ्य कार्यालय र भेटेनरी गुणस्तर तथा औषधि व्यवस्था कार्यालयमा पठाइएको बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर