newskoseli.Com

बलात्कार र बहुविवाहका घटना बढे

गोरखामा मानवअधिकार उलङ्घन र ज्यादतिका घटना बढेको पाइएको छ ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जनवरी महिनादेखि जुनसम्म जिल्लामा भएका घटनाबारे अर्धवार्षिक समीक्षा गर्दै बलात्कार र बहुविवाहका घटना बढेको जनाएको छ ।

इन्सेक प्रतिनिधि नरहरि सापकोटाका अनुसार छ महिनाको अवधिमा १४ वटा घटना भएको र तीमध्ये ११ वटा घटना जबर्जस्ती करणीका छन् भने अन्य घटना बहुविवाहका छन् ।

घटनामध्ये अधिकांश सुस्त मनस्थिति, अपाङ्गता भएका बालिका जबर्जस्ती करणीको सिकार भएको पाइएको छ । इन्सेकले छ महिने अवधिमा भएका घटनाबारे सदरमुकाममा गरेको अर्धवार्षिक समीक्षामा राजनीतिक आवरणमा हुने घटना शान्ति प्रक्रियापछि कम भए पनि बलात्कार, बहुविवाह र घरेलु हिंसाका घटना बढ्दै गएकामा अधिकारकर्मीले चिन्ता व्यक्त गरेका छन् ।

अधिकारकर्मी यदुप्रसाद अधिकारीले यातायात क्षेत्रमा सिन्डिकेट लाद्ने नाउँमा यात्रु बोकेका बसमाथि ढुङ्गामुढा गर्दै यात्रुलाई घाइते बनाउने प्रवृत्ति दोहोरिएको छ भन्दै नयाँ तवरले मानव अधिकार उलङ्घनका घटना बढ्दै गएको धारणा राखे । सरकारले सिन्डिकेट पक्षधरलाई कानुनी कठघरमा उभ्याउनुपर्ने उनको भनाइ छ ।

मानवअधिकार उलङ्घन र ज्यादतीका अधिकांश घटना आर्थिक चलखेलका आधारमा मिल्ने गरेको पाइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर