‘जयभुँडी’ पुस्तकमा नेपालका सुप्रशिद्ध हास्य–साहित्यकार भैरव अर्यालले लेखेका छन्– ‘उहिलेका कुरा खुइले– कसैले सुन्दैन, ऐलेका कुरा सबैलाई थाहा छ– सुनाउनै पर्दैन ।’
नेपालको वर्तमान परिवेश त्यस्तैत्यस्तै देखिन्छ । हामी सबैलाई थाहा छ– समाजमा पुँजीपति र श्रमजीवी गरी दुईटा वर्ग छन् । तर, यति सानो देशमा १ सय वटाभन्दा बढी पार्टीहरु छन्, किन ?
मभन्दा जान्ने अरु कोही छैनन् भनेर घमण्ड गर्न खोजिएको होइन । प्रश्न हो, कहाँ गयो वर्गीय सिद्धान्त ? कहाँ हरायो वर्गीय माया ? एउटा पार्टीले अर्को पार्टीलाई निषेध गर्ने कुरा त स्वाभाविक हो तर एउटै पार्टीका नेताले सोही पार्टीका अर्का नेताको कुनै कुरामा विश्वास नगर्ने, एउटा कार्यकर्ताले अर्को कार्यकर्तालाई खुइल्याउने दुःखद् परिस्थितिको सिर्जना किन र कसरी हुँदैछ ?
कहीँ नभएको जात्रा हाँडी गाउँको भने झैं माओवादी आन्दोलनका विभिन्न घटकहरुभित्र यतिबेला देखिएको जात्राले व्यक्ति, वर्ग, पार्टी र मुलुकलाई कतातिर डोहोर्याउँदैछ ? हामी छोराछोरी पढाउन स्वदेशमै चाहिँ १० हजार खर्च गर्न सक्दैनौं तर विदेश पठाउनुपरे १० लाख खर्च गर्न सक्छौं । किन र कसरी भइरहेछ यस्तो स्थिति ? नेपाल र नेपालीका लागि ज्यान दिने नेपाली वीरंगाना महिलाहरुका बारे सम्भ्रान्त वर्गका महिलाहरुलाई कुनै चासो छैन, यो स्वाभाविकै हो । तर, यहाँका सम्भ्रान्त महिला भारतीय टेलीसिरियलमा अभिनय गर्ने कलाकार (महिला वा पुरुष) मरेको देख्दा चाहिँ ‘कठैबरा’ भन्दै आँशु चुहाउने स्थिति कसरी भइरहेको छ ?
बागमती नदीको किनारमा बसेर हरे ‘हरहर गंगा’ भन्दै मुख धुने पनि हामी नेपाली नै हौं । हामी समाजवादका कुरा गर्छौं तर व्यवहारमा समाजवादविरोधी बनिरहेका छौं । अब छोराछोरीको विवाह आमाबाबुले गरिदिनु पर्दैन, मोबाइल फोनले गरिदिन्छ किनकि छोरीछोरी र आमाबाबुबीचको सम्बन्ध र विश्वास नराम्ररी भत्कँदै गएको छ । आजकलका विद्यार्थीहरु नयाँ कुरा पढ्दैनन् । हाम्रा ‘महान् नेताहरु’ ले पनि विगतमा आफैंले दुःख गरेर पढेका र आर्जन गरेका ज्ञानगुनका कुरा बिर्सन थालिसके ।
अब्राहम लिङ्कनले समुद्रमा डुंगा पल्टिएर डुबेपछि पौडी खेली पार गरेर निस्कँदै पुस्तकालयमा गएर पढेका, कार्ल मार्क्ले छोरी सिकिस्त बिरामी हुँदा समेत रातभरि पुस्तकालयमा गएर पढेका जस्ता कहालीलाग्दा र सकसपूर्ण जिन्दगीका प्रेरणादायी इतिहास अब काल्पनिक कथामा बदलिन थालिसके । हाम्रा पुस्तकालयहरु नयाँनयाँ ज्ञान आर्जनका केन्द्र नभई संग्राहलयमा बदलिने वा क्रमशः बन्द हुँदै समाप्त हुने क्रम बढिरहेको छ । हामी ‘धनसम्पत्ति चोर्नु अपराध हो तर बुद्धि चोर्नु चाहिँ सफलता हो’ भन्ने उक्तिलाई उल्ट्याएर ‘धनसम्पत्ति चोर्नु सफलता हो र बुद्धि चोर्नु चाहिँ अपराध हो’ भन्ने ठाउँमा पुग्न आँटेका छौं ।
राजनीतिमा जनप्रेमी तथा देशभक्तहरुले जनता र देशको चिन्ता गर्दछन् तर स्वार्थी र धोकेबाजहरुले चाहिँ अगामी चुनावको मात्रै चिन्ता गर्दछन् । मैले तिम्रो सडकका निम्ति, सिँचाइका निम्ति, खानेपानीका निम्ति, बिजुली बत्तीका निम्ति यतियति पैसा पारिदिएँ त्यसैले भोट मलाई नै दिनुपर्छ भन्ने गलत संस्कारको विकास हुँदैछ ।
अब प्रश्न उठ्छ– ती नेताले तततत स्थान र शीर्षकमा पैसा पारे रे तर त्यो पैसा कसको हो ? भोट माग्ने व्यक्तिको हो कि उसको पार्टीको ? आखिर त्यो पैसा त जनताकै रगत–पसिनाबाट संकलित राष्ट्रिय ढुकुटीको होइन र ! जनताबाट संकलित पैसा निश्चित कामका लागि जनतामै फिर्ता गर्दा केवल एक भोटका नाममा जनता बेचिनुपर्ने बाध्यात्मक परिस्थिति किन कायम छ ?
जीवित मानवमानवबीचको सहयोग, सहानुभूति, श्रद्धाभन्दा प्राणविहीन पैसाप्रति हामी किन यस्तो लज्जाजनक आत्मसमर्पण गर्दै र लम्पसार पर्दैछौं ? भाषण गर्दा ‘आदरणीय जनसमुदाय’ भन्ने तर सत्तामा पुगेपछि तिनै ‘आदरणीय’ लाई सपनामा पनि नदेख्ने ? धर्ममा व्यापार, न्यायमा व्यापार, शिक्षामा व्यापार, स्वास्थ्यमा व्यापार, विकासमा व्यापार, समाजसेवामा व्यापार भएपछि कता हरायो मानवीय संवेदना ? खै कहाँ छ समाज रुपान्तरणको पाटो ?
नेतादेखि मन्त्रीसम्म, मन्त्रालयका सचिवदेखि कर्मचारीसम्म, उच्चाधिकारीदेखि पियनसम्म यही मनोवृत्तिका भएका कारण जनतामा व्यापक निराशा छाएको छ । यो लेख पढेपछि कसैले ‘असन्तुष्टिको पोको’ भन्न सक्छ, कसैलाई ‘कुसंस्कारविरुद्धको धावा’ पनि लाग्न सक्छ । ज–जसलाई ‘अनावश्यक र असन्तुष्टिको पोको’ लाग्छ– तिनैले हो पैसालाई जीवनको अन्तिम कर्मथलो बनाइराखेको । उनैले हो– श्रमजीवी जनताको भविष्यमाथि खेलबाड गर्दै मुलुकलाई धुजाधुजा पारिरहेको ।
यिनै सन्दर्भलाई केलाउँदै यस आलेखमा ‘सार र रुप’ बारे संक्षिप्त विमर्श गर्ने जमर्को गरिएको छ । हामी मार्क्वादी अथवा कम्युनिस्ट हौं । यही मानेमा हामीले आफूलाई संसारकै सबभन्दा चेतनाशील, अनुशासित र गौरवशाली हौ भनेर दावी गर्दै आएका छौं । विश्वमा न्याय, समानता, भ्रातृत्व र राष्ट्रियताका लागि सबैभन्दा बढी रगत कम्युनिस्टले नै बगाएका छन् ।
त्यसैले स्वाभिमानको मामलामा हाम्रो शिर अरुको भन्दा निकै उच्च छ । विचार र उद्देश्यमा स्पष्ट भएर विश्वकम्युनिस्ट आन्दोलनदेखि नेपालीकै दसवर्षे महान् जनयुद्धमा समेत सचेततापूर्वक बगेका रगत–पसिना र आँशुका एक–एक थोपाको मूल्यलाई पैसाको मापदण्डमा नाप्न र किन्न कदापि सकिँदैन ।
हामी द्वन्द्वात्मक भौतिकवादी भएकाले हाम्रा निश्चित सैद्धान्तिक सपना र सोही जगमा उभिएका उच्च नैतिकता हुन्छन् । निश्चित वैज्ञानिक सिद्धान्त र उद्देश्यका लागि गरिने आन्दोलनहरु क्रान्ति हुन् भने स्वार्थपूर्तिका लागि विनासिद्धान्त र विनाउद्देश्य गरिने गतिविधि गुन्डागर्दी हुन् ।
मार्क्सवादी सिद्धान्त कुनै काल्पनिक कुरा वा जडसूत्र दुवै होइन, यो त करोडौं जनताको रगत–पसिना र आँशुबाट जन्मेको अकाट्य वैज्ञानिक सिद्धान्त हो । सार र रुपबीचको अन्तर्सम्बन्ध एवम् अन्तर्विरोध नै मार्क्सवादी दर्शनको गुदी हो । जसले सार र रुपबीचको द्वन्द्वात्मक सम्बन्धबारे अध्ययन गर्दैन ऊ कम्युनिस्ट बन्नै सक्दैन । त्यस्तो व्यक्ति न देशभक्त बन्न सक्छ न त जनसेवी नै । त्यसैले कोही समाजसेवी वा देशभक्त या क्रान्तिकारी बन्न चाहन्छ भने उसले अनिवार्यतः रुप र सार, पदार्थ र चेतना, कार्य र कारण, अनिवार्यता र आकस्मिकता, सम्भावना र वास्तविकता, व्यष्टि र समष्टि आदिजस्ता दार्शनिक प्रवर्गबारे अध्ययन गर्नै पर्दछ ।
सार चाहिँ वस्तु वा घटना निर्धारण गर्ने तत्व हो भने रुप भनेको बाह्य संरचना वा संगठन हो । सार र रुप दुवै स्थायी रुपमा गतिशील हुन्छन् । तर, नेतृत्व सारले गर्दछ, रुप सारको पछिपछि लाग्दछ । एउटै व्यक्ति, वस्तु, प्रकृति, समाज आदिभित्र सार र रुप दुवै हुन्छन् । तर, सारविना रुप हुँदैन अनि रुपविना सार पनि हुँदैन । रुप र सारबीचको सम्बन्ध द्वन्द्वात्मक तर सापेक्ष हुन्छ, निरपेक्ष होइन ।
नयाँ सारले पुरानो रुपलाई अथवा पुरानो रुपले नयाँ सारलाई केही मात्रामा उपयोग गर्न सक्दछन् । राजनीतिक रुपमा पार्टीका सिद्धान्तहरु सार हुन् भने संगठन, संगठन सञ्चालन गर्ने विधि र पद्धति अर्थात् जनवादी केन्द्रीयता आदि रुप पक्ष हुन् । आर्थिक रुपमा उत्पादक–शक्ति सार हो भने उत्पादन–सम्बन्ध रुप हो ।
उल्लेख गरिसकियो कि सार र रुपबीचको सम्बन्ध अस्थायी तथा सापेक्ष हुन्छ । जब सार र रुपबीच अन्तर्विरोध देखा पर्दछ अथवा उत्पादक–शक्ति र उत्पादन–सम्बन्धबीच अवरोध पैदा हुन्छ, त्यहाँ धक्का अथवा बल प्रयोगको आवश्यकता पर्दछ, त्यसैलाई ‘क्रान्ति’ भनिन्छ । पुँजीवादी राज्यसत्तामा उत्पादक–शक्ति र उत्पादन–सम्बन्धबीच अथवा सार रुपबीच तीव्र सत्रुतापूर्ण अन्तर्विरोध रहिरहन्छ भने समाजवादमा उत्पादक–शक्तिको अनुकूल उत्पादन–सम्बन्ध हुने भएकाले ती दुईबीचको सम्बन्ध सत्रुतापूर्ण नभई मित्रतापूर्ण हुन्छ ।
यसर्थ, सारअनुसार रुप निर्माण गर्नु अथवा उत्पादक–शक्तिअनुसार उत्पादन–सम्बन्ध कायम गर्नु नै क्रान्तिको मुख्य उद्देश्य हो । यसो गर्दा पुरानो राज्यसत्ता पूर्ण रुपमा ध्वस्त हुन्छ र नयाँ राज्यसत्ता निर्माण हुन्छ । यही उद्देश्यको आधारमा कम्युनिस्ट पार्टी निर्माण भएका हुन्छन् । यही बुझाइ र समर्पणको आधारमा हाम्रो जीवन–व्यवहार र कार्यशैली निर्माण हुनुपर्ने हो ।
देशमा व्याप्त बेथिति र गलत कार्यशैलीका विषयमा पार्टीका कतिपय नेताहरुसँग इमानदार कार्यकर्ता र जनताले गम्भीर प्रश्न सोधिरहेका छन्– के अब उत्पादक–शक्तिको आधारमा उत्पादन–सम्बन्ध फेर्नु आवश्यक छैन ? पुरानो प्रतिक्रियावादी वा पुँजीपति वर्गको हातमा उत्पादनका साधनहरु कायम रहन दिएर पुरानो राज्यसत्ताका ठाउँमा नयाँ राज्यसत्ता स्थापित हुनेगरी पुनर्संरचना गर्न सकिन्छ ? नयाँ राज्यसत्तामाथि सर्वहारा वर्गको अधिनायकत्व कायम गर्न पहिले नेतृत्ववर्ग नै सर्वहारा वर्गमा रुपान्तरित हुनु पर्दैन ? आ–आफ्ना व्यक्तिगत वा पारिवारिक स्वार्थ नै जनता र राष्ट्रका स्वार्थ हुन् कि राष्ट्र र जनताका स्वार्थ चाहिँ आफ्ना र वर्गका स्वार्थ हुन् ?
कतिपय नेताहरु यी प्रश्न र जिज्ञासाप्रति मौन छन् । राष्ट्र र जनतालाई धोका नै दिनुछ भने, कुनै समस्याको समाधान खोज्नु छैन भने भन्नु केही छैन । तर, कम्युनिस्ट क्रान्तिकारीहरुको अभिष्ट या लक्ष्य सर्वहारावर्गीय वर्गसंघर्षको निरन्तरता हो किनकि वर्गसंघर्ष नै जनता र पार्टीको जीवन हो अनि अनुशासन, नैतिकता र जीवनशैलीमा सर्वहारा आचरणको सर्वोच्चता कायम गर्नु हो ।