
वर्तमान सन्दर्भको सर्वाधिक सान्दर्भिक एउटा गीत हालै सार्वजनिक भएको छ । मणि थापाको रचना–सङ्गीत, नारायण दङ्गालको एरेन्ज र रमण थामीको स्वरलहरीमा सजिएको यस गीतलाई नेपाल राष्ट्र र नेपाली जनताका पक्षमा यतिबेलाको प्रतिनिधिमूलक सिर्जना मान्न सकिन्छ । निकै कम शब्द (एघार लाइन) र ५ मिनेट ४० सेकेन्ड आयामको यो गीत वर्तमान समय–सन्दर्भ र जनआवाज तथा जनभावनालाई पक्रेर निकै स्पष्ट र ज्यादै सशक्त ढङ्गबाट सिङ्गो मुलुक झक्झक्याउन सफल रहेको देखिन्छ ।
ओ गणतन्त्र ! हो गणतन्त्र !!
तिम्रा लागि हामीले बन्दुक बोकेका हौं
तिम्रा लागि हामीले सहिद भएका हौं
तिम्रा लागि हामीले जेल बसेका हौं
तिम्रा लागि हामीले राजतन्त्र फालेका हौं । ओ गणतन्त्र…
एकातिर, गणतान्त्रिक सभ्यता, मूल्य–मान्यता र मूल भावनाबाट च्युत भई नालायक यथास्थितिवादी–संशोधनवादी कुतत्त्वहरू आफूलाई प्राप्त अवसर, जनमत र जनभसोसाको चरम दुरूपयोग गरिरहेका छन् । अर्कातिर, यथास्थितिवादले गणतान्त्रिक आभालाई नै ढाक्ने गरी सिर्जना गरिदिएको भ्रष्टीकृत एवम् विसङ्गत वर्तमानकै ढाडमा टेकेर सामन्तवादी तत्त्वहरू, सत्ताच्युत पुराना भ्रष्ट कुशासकहरू, जनघाती–राष्ट्रघातीहरू, इतिहासका कुडाकर्कट अपराधीहरू, सामन्तवादी दलालहरू एवम् तिनका दास, रैती र पछौटेपनग्रस्त न्यून चेतनाका मानवरूपी दानवहरू समग्र मानव सभ्यता, समाज, मुलुक र राजनीतिलाई फेरि पनि पुरानै राजतन्त्रकालीन जङ्गली बर्बरतातर्फ फर्काउने दिवासपनाका साथ कुप्रचार र कुचेष्टा गरिरहेका छन् । यी दुवैथरी राष्ट्रघाती, जनघाती र अपराधीहरूको टाउको चकनाचुर पार्ने गरी घन बजार्न सर्जक थापाको शब्द–सङ्गीत र गायक थामीको आवाज शानदार रूपले सफल देखिन्छ ।
वि.सं. १९९७, २००७, २०२८, २०३६–३७, २०४६ लगायतका विभिन्न जनआन्दोलन तथा सङ्घर्षहरू र मुख्यतः २०५२–६२ को दसवर्षे महान् जनयुद्ध र त्यसैको जग, मुख्य भूमिका र संसदीय जनआन्दोलनहरूसँगको संयोजन–समायोजनमा सम्पन्न भएको २०६२–६३ को विद्रोहमार्फत नेपाली जनताले करिव अढाई सय वर्ष लामो नेपालको निरङ्कुश–तानाशाही सामन्ती राजतन्त्रलाई सदाका लागि बिदा गरे, चिहानमा पुर्याए र सदगत गरे । महान् नेपाली जनयुद्धको आङ्शिक सफलतास्वरूप तत्कालीन राजतन्त्रात्मक संसदीय व्यवस्था खारेज भयो । सोही सिलसिलामा ‘नेपाल अधिराज्यको संविधान, २०४७’ खारेज भई ‘नेपालको अन्तरिम संविधान, २०६३’ को घोषणा, ‘अन्तरिम व्यवस्थापिका–संसद्’ को स्थापना र ‘संविधानसभा निर्वाचन, २०६४’ को घोषणाजस्ता अग्रगमनकारी पहल अघि बढे ।
समाज र राष्ट्रको पाङ्ग्रा सधैँ अगाडि मात्रै बढ्दछ; पछाडि किमार्थ फर्कंदैन । यसर्थ संसदीय गणतन्त्रको विकल्प जनवादी गणतन्त्र र समाजवादी गणतन्त्र मात्रै हो; राजतन्त्रको मूर्दा ब्युँताउनु विकल्प हुँदै होइन र हुनै सक्दैन । राष्ट्रमा व्याप्त अन्याय, अत्याचार र व्यभिचारको अन्त्य गर्दै संसदवादका विरुद्ध समाजवादको झन्डा फहराउँदा सवैको नाकमा ठोकिइरहेको प्रतिगमनकारी दुर्गन्ध स्वतः खरानी हुन्छ ।
अन्तरिम व्यवस्थापिका–संसदबाटै तानाशाही राजतन्त्रलाई निलम्बन गरियो । अन्तरिम संविधानमै टेकेर संविधानसभा निर्वाचनपछि बस्ने संविधानसभाको पहिलो बैठकबाट राजतन्त्रको समूल अन्त्य गरी गणतन्त्र कार्यान्वयन गर्ने निर्णय अन्तरिम व्यवस्थापिका–संसदबाटै गरियो । अन्ततः १५ जेठ, २०६५ मा पहिलो संविधानसभाको पहिलो बैठकबाट नेपाली सामन्तवादको मुख्य नाइके राजतन्त्रलाई सदाका लागि बिदा गरियो । सिंहासन र श्रीपेच खोस्दै अपदस्थ ‘राजा’ ज्ञानेन्द्रलाई नागार्जुन पठाएर नारायणहिटी ‘दरबार’ खाली गराइयो । ऐतिहासिक रूपले गणतन्त्रको व्यावहारिक कार्यान्वयन गरियो ।
‘दोस्रो संविधानसभा निर्वाचन, २०७०’ ले ३ असोज, २०७२ मा ‘नेपालको संविधान, २०७२’ जारी गर्यो । यही संविधानले राष्ट्रप्रमुख एवम् उपप्रमुखका रूपमा राष्ट्रपति एवम् उपराष्ट्रपतिको संवैधानिक व्यवस्था गरी विधिवतरूपले गणतन्त्रलाई संस्थागत गर्यो । गीतले भन्छ–
तिमीबाट हामीले न्याय खोजेका हौं
तिमीबाट हामीले समानता खोजेका हौं
तिमीबाट हामीले प्रगति खोजेका हौं
तिम्रा लागि हामीले बन्दुक बोकेका हौं । ओ गणतन्त्र…
मुलुक र जनताले राजतन्त्रात्मक अन्धकार युगबाट त छुटकारा पाए तर संसदीय फासीवाद भने अझ पनि कायमै छ । जनयुद्ध, विभिन्न समय र रूप–स्वरूपका जनआन्दोलनहरू तथा अनेकौं वर्गीय–क्षेत्रीय–जातीय आन्दोलनहरू समेत अझै पनि पूर्ण सफलतामा पुग्न सकेका छैनन् । ती सङ्घर्षहरूले मुख्य उपलब्धि हासिल गर्न बाँकी नै छ । संसदीय फासीवादलाई परास्त गरेर जनवादी व्यवस्था स्थापना गरेर जनता, समाज र मुलुकलाई समाजवादको उज्यालोतर्फ डोर्याउने मुख्य कार्यभार अझै बाँकी रहेकाले समाज र राष्ट्रमा अझसम्म कुशासन, अनेकौं समस्या, विकृति–विसङ्गति र व्यभिचार व्याप्त छन् ।
यथार्थता र वास्तविकता यस्तो छ ।
तर, विगतदेखि जनताको रगत–पसिनामाथि ब्रह्मलुट गर्दै आएको सामन्ती तत्त्व र आफूलाई दास र रैतीभन्दा माथिको चेतनामा उठाउनै नसकेको नेपाली समाजको एउटा सीमान्तीकृत हिस्सा भने ‘सम्पूर्ण समस्या गणतन्त्रले सिर्जना गरेको’ भन्दै ‘राष्ट्र र जनता बचाउन राजतन्त्र (दास र रैतीहरूको भाषामा ‘राजसंस्था’) फर्काउनुको विकल्प छैन’ भन्दै बकवास गरिरहेको छ । प्रतिगमनको मुख्य ‘हतियार’ का रूपमा यो तप्काले ‘धार्मिकता’ को धन्दा नराम्ररी चलाइरहेकाे छ र ‘हिन्दू धर्म–संस्कृति’ को ठेक्का नै आफैंले लिएको दावी गर्दै यसको चरम दुरूपयोग एवम् बदनाम गरिरहेको छ ।
यो तप्का रक्सीभट्टी, सामाजिक सञ्जाल र समाजको छेउकुनाबाट सल्बलाउँदै बकवासपूर्ण दुष्प्रचार मात्र गरिरहेको छैन; संसद र सडकबाटै समेत आपत्तिजनक हर्कतहरू गर्न थालेको छ । अझ हास्यास्पद कुरा त के छ भने आफूलाई ‘वरिष्ठ पत्रकार’, ‘विद्वान्’, ‘अध्येता’ र ‘उद्यमी’ ठान्नेहरूमध्येका केही पात्रहरूले प्रतिगमनकारी हर्कतको बागडोर नै समाल्ने जमर्को गरेका छन् भने तीमध्येका केहीचाहिँ छद्म ढङ्गबाट प्रतिगमनको मतियार बनिरहेका देखिन्छन् ।
अतः यथास्थितिवादका विरुद्ध समाजवादका पक्षमा सवै क्षेत्रबाट अघि बढ्नु नै नेपाल राष्ट्र र नेपाली जनताका निम्ति अहिलेको एक मात्र विकल्प हो । समाज र राष्ट्रको पाङ्ग्रा सधैँ अगाडि मात्रै बढ्दछ; पछाडि किमार्थ फर्कंदैन । यसर्थ संसदीय गणतन्त्रको विकल्प जनवादी गणतन्त्र र समाजवादी गणतन्त्र मात्रै हो; राजतन्त्रको मूर्दा ब्युँताउनु विकल्प हुँदै होइन र हुनै सक्दैन ।
समाज र राष्ट्रमा व्याप्त अन्याय, अत्याचार र व्यभिचारको अन्त्य गर्दै संसदवादका विरुद्ध समाजवादको झन्डा फहराउँदा सवैको नाकमा ठोकिइरहेको प्रतिगमनकारी दुर्गन्ध स्वतः खरानी हुन्छ । त्यसका लागि आवश्यक सङ्घर्षका स्वरूपहरू समयको आवाजसँगै निर्धारित हुन्छन् । नेपाल र नेपालीको अहिलेको जरुरत हो– समाजवादी गणतन्त्र । समग्र नेपाली जनता यसैका निम्ति लड्न अझै तयार छन् । गीतका यी पङ्क्तिले प्रवाहित गरिरहेको सन्देश त्यही नै हो–
तिमीबाट अन्याय सुन्न तयार छैनौं
तिमीबाट राष्ट्रघात मान्न तयार छैनौं
तिम्रा लागि अझै लड्न तयार छौं
तिम्रा लागि हामीले बन्दुक बोकेका हौं । ओ गणतन्त्र…
–जनजिब्रो साप्ताहिकबाट