
नेकपा (माओवादी केन्द्र) ले नेताहरुको नयाँ कार्यविभाजन गरी मातहत कमिटीमा सर्कुलरमार्फत जानकारी गराएको छ । कार्यविभाजनमा पूर्वराष्ट्रपति नन्दबहादुुर पुन ‘पासाङ’ देखि केही समय निस्क्रिय रहेका कृष्णबहादुर महरासम्मले जिम्मेवारी पाएका छन् ।
विभागीय जिम्मेवारीका अतिरिक्त माओवादीले प्रदेश र जिल्लाहरुको इन्चार्ज समेत तोकेको छ । दुई प्रदेशका इन्चार्ज फेरिएका छन् र अधिकांशमा पुरानै दोहोरिएका छन् । जिल्ला इन्चार्जहरु पनि कतिपय पुरानै कायम छन् भने कतिपयमा नयाँ नेताहरूले भूमिका पाएका छन् ।
अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु र महासचिवसम्मका पदाधिकारीहरुलाई राजनीतिक–वैचारिक कामका साथै नीति निर्माणसम्बन्धी विभाग र मोर्चाहरुको जिम्मेवारी तोकिएको छ । जनप्रतिनिधि रहेका केही पदाधिकारीहरुलाई मूलतः नीति निर्माण सम्बन्धी विभागहरुमा केन्द्रित गरिएको छ । उपमहासचिव, सचिव, स्थायी समिति सदस्यहरु र केन्द्रीय सदस्यहरुलाई प्रदेशहरुको जिम्मेवारी दिइएको छ ।
प्रदेश इन्चार्जको नेतृत्वमा सहइन्चार्जहरु, प्रदेशसभाको दल नेता, प्रदेश अध्यक्ष र उक्त प्रदेशमा कार्यरत स्थायी समितिका सदस्यहरु रहेको समन्वय कार्यालय गठन गरिएको छ । सदस्यहरु थप गर्नुपर्ने भएमा समन्वय कार्यालयको सिफारिसमा केन्द्रीय कार्यालयले निर्णय गर्ने भनिएको छ । प्रदेश इन्चार्जको परामर्शमा जिल्ला इन्चार्जहरु तोकिएका छन् । महानगरपालिका इन्चार्ज र हाल जिल्लामा सहइन्चार्ज रहेका नेताहरुको जिम्मेवारी यथावत राखिएको छ ।