
नेपालमा समेत दशकौं अघिदेखि लोकप्रिय प्रसिद्ध पाकिस्तानी गजल गायक गुलाम अली चैत २ मा राजधानीको ललितपुरमा गुञ्जिने भएका छन् । अली, उनका छोरा र नातिले सोही दिन एउटै स्टेजमा पुल्चोकस्थित द प्लाजामा ‘गुलाम अली थ्री जनेरेसन अन वान स्टेज’ कार्यक्रममार्फत प्रस्तुति दिने भएका हुन् ।
‘गजल गायक अलीले छोरा आमिर गुलाम अली र नाति नाजिर गुलाम अलीका साथ एउटै स्टेजमा प्रस्तुति दिनुहुने छ,’ कार्यक्रमको आयोजक संस्था साधना कला केन्द्रका अध्यक्ष मिलन मोक्तानले भने– ‘उहाँलाई नेपाल आउने इच्छा भएकाले हामीले कार्यक्रम आयोजना गर्न लागेका हौं ।’ गजल गायक अली फागुन ३० मा नेपाल आउने कार्यक्रम रहेको मोक्तानले बताए ।
‘मैले पनि उहाँसँग काम गर्ने अवसर पाएको छु, उहाँलाई प्रत्यक्ष सुन्ने र हेर्ने सपना दर्शक झैँ सङ्गीतकर्मीको पनि हुन्छ,’ गजल गायक अलीको कार्यक्रमले नेपाली गजलकारलाई ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्दै सङ्गीतकार दीपक जङ्गमले भने– ‘त्यसैले यो कार्यक्रम दर्शक झैँ सङ्गीतकर्मीका लागि पनि उत्तिकै महत्त्वपूर्ण छ ।’
गजल गायक अलीको स्वरमा सजिएका ‘गाजलु ती ठूलाठूला आँखा’, ‘किन किन तिम्रो तस्बिर’, ‘लोलाएका ती ठूला’, ‘के छ र दिउँ’, ‘निधारमा’ लगायतका नेपाली गीत र गजल निकै लोकप्रिय छन् ।