newskoseli.Com

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक भूकम्पका धक्का महसुस भएका छन् ।

भूकम्प मापन केन्द्र सुुर्खेतका अनुसार ती धक्काको केन्द्रबिन्दु बझाङको सदरमुकाम चैनपुरबाट ११ किमी उत्तरपूर्व मयानामा रहेको छ । आज मात्रै बिहान ४ बजेर ३२ मिनेटमा ३.४ रिक्टरको पहिलो, ७ बजेर ८ मिनेटमा ३.८ रिक्टरको दोस्रो, अपराह्न १२ बजेर ७ मिनेटमा २.८ रिक्टर स्केलको तेस्रो धक्का तथा बाँकी २ वटा साना धक्का गएका छन् ।

बुधबार १६ पटक र  बिहीबार पाँच पटक गरी २१ पटक धक्का गएको भूकम्प मापन केन्द्र सुुर्खेतका प्राविधिक सहायक तीर्थ दाहालले जानकारी दिए । उन भने— “बुधबार २ बजे ५५ मिनेटदेखि आज मध्याह्न १२ बजेर ७ मिनेटसम्म २१ वटा धक्का गएका हुन् ।” बुधबार पहिलो धक्का २ बजेर ५५ मिनेटमा पाँच रिक्टर स्केलको, ३ बजेर ११ मिनेटमा ४.२ रिक्टर स्केलको, ३ बजेर २८ मिनेटमा ३.८ रिक्टर स्केलको, ३ बजेर २९ मिनेटमा ३.६ रिक्टर स्केलको र साँझ ५ बजेर ५१ मिनेटमा २.८ रिक्टर स्केल लगायत १६ पटकसम्म गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले ‘गोरखा भूकम्प’पछि देशभरि नै ससाना धक्का महसुस भइरहेकाले यसमा डराउनुपर्ने अवस्था नरहेको बताए। उनले भने– “५ रिक्टर स्केलको भूकम्प गएपछि त्योभन्दा साना धक्का जाँदै गरेको र कम्पन पनि कम हुँदै गएकाले डराउनुपर्ने अवस्था छैन ।”

यो गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भए पनि डराउनुपर्ने अवस्था नरहेको तर सतर्क रहनुपर्ने उनले बताए । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले कुनै क्षति नभएको र अझै पनि क्षतिको विवरण सङ्कलनको काम भइरहेको बताए । लगातारको धक्काले स्थानीय बासिन्दा त्रसित बनेका छन् ।

भूकम्प जहिले पनि र जति बेला जान सक्ने भएकाले पूर्वतयारीका साथ बस्न स्थानीय प्रशासन कार्यालयले सबैमा आग्रह गरेको छ ।
––––––

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर