newskoseli.Com

अब बढ्यो बिजुलीको महशुल पनि !

सर्वत्र महँगी बढेर जनजीवन अस्तव्यस्त हुँदै गइरहेका बेला बिजुलीको महशुल पनि बढेको छ । विद्युत् महसुल औसतमा करिब १९ प्रतिशतले बढेको छ । विद्युत् महसुल निर्धारण आयोगले बिहीबार १ साउनबाट लागू हुने गरी महसुल बढाउने निर्णय गरेको हो । यसबाट नेपाल विद्युत् प्राधिकरणको आम्दानी करिब साढे पाँच अर्ब रुपैयाँ बढ्ने अनुमान गरिएको छ ।

साना ग्राहकले मासिक न्यूनतम ८० रुपैयाँ महसुल तिर्नुपर्ने व्यवस्था हटाइएको आयोगका अध्यक्ष जगतकुमार भुसालले बताए । भुसालले भने, ‘खपतका आधारमा महसुल लाग्ने व्यवस्था गरेका छौ । ५ एम्पिएरको मिटर राखी न्यूनतम ८० रुपैयाँ तिर्ने ग्राहकले अब न्यूनतम मासिक शुल्क ३० र २० युनिटसम्म प्रतियुनिट ३ रुपैयाँ तिरे पुग्नेछ ।’

नयाँ महसुल लागू भएपछि कुनै ग्राहकले ५ एम्पिएरको मिटर राखी ५ युनिट खपत गरेमा न्यूनतम शुल्क ३० र विद्युत् खपतको १५ गरी ४५ रुपैयाँ तिरे पुग्छ । २० युनिट खपत गरेमा भने ९० रुपैयाँ तिर्नुपर्नेछ । २१–३० युनिट खपत गरेमा ५० रुपैयाँ सेवा शुल्क र प्रतियुनिट ७ रुपैयाँ महसुल तिर्नुपर्नेछ ।

यसैगरी, १५ एम्पिएरको मिटर राख्ने ग्राहकलाई ५० रुपैयाँ सेवा शुल्क र २० युनिटसम्म चार रुपैयाँ प्रतियुनिट महसुल लाग्नेछ भने यस्ता ग्राहकले मासिक तीन सय ६५ रुपैयाँ तिर्दै आएका छन् । उनीहरूले मासिक ५० युनिट छुट पाउँदै आएका थिए भने अब यस्ता ग्राहकले २० युनिट खपत गरेमा मासिक एक सय ३० रुपैयाँ तिर्नुपर्नेछ ।

३० एम्पिएरको मिटर राख्ने ग्राहकले सेवा शुल्क ७५ रुपैयाँ तिर्नु पर्नेछ । यस्ता ग्राहकले २० युनिट मात्रै खपत गरेमा प्रतियुनिट ५ रुपैयाँ र सेवा शुल्क गरी मासिक एक सय ७५ रुपैयाँ तिर्नुपर्नेछ । ६० एम्पिएरको मिटर राख्ने ग्राहकले एक सय २५ रुपैयाँ सेवा शुल्क र २० युनिटसम्म प्रतियुनिट ६ रुपैयाँ तिर्नुपर्नेछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर