मलेसियाको कैद शिविर (डिटेन्सन क्याम्प) मा रहेका १० नेपालीको उद्धार गरी नेपालमा ल्याइएको छ ।
मलेसियास्थित नेपाली दूतावासद्धारा जारी विज्ञप्तिमा अवैधानिक रुपमा काम गरेको आरोपमा जेल सजाय काटिसकेपछि पनि टिकट काट्ने रकम नभएर घर फर्किन नपाएका पाँच जना र विभिन्न शिविरमा रहेका पाँच जना गरी १० जनालाई बिहीबार नेपाल फर्काइएको उल्लेख गरिएको छ ।
मलेसिया भ्रमणमा रहेका श्रम तथा रोजगारमन्त्री दीपक बोहराले विभिन्न शिविरमा गई अवलोकनको क्रममा अलपत्र अवस्थामा रहेका उनीहरुलाई भेटेपछि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सहयोगमा हवाई टिकट किनेर स्वदेश फर्काइएको हो ।
मन्त्री बोहराले शिविरका प्रमुखलाई त्यहाँ रहेका नेपालीलाई छिटो घर फिर्तिका लागि सहयोग गर्न समेत आग्रह गरेका थिए ।
भ्रमणको क्रममा उनले मलेसियास्थित व्यापारीलाई नेपालमा लगानी गर्न आग्रह गरे ।
सरकारी र गैरसरकारी सङ्घ सङ्स्थाको सहयोगमा निःशुल्क टिकटको व्यवस्था गरी हालसम्म ५सय ९६ जना नेपालीलाई स्वदेश फर्काइएको दूतावासले जनाएको छ ।