
प्रधानमन्त्री केपी शर्मा ओली सरकार चलचित्र क्षेत्रको विकासका लागि प्रतिबद्ध भएको बताए ।
नेपाल चलचित्र कलाकार सङ्घ(फ्यान)द्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले चलचित्र क्षेत्र उपेक्षित हुँदैन भन्दै समाजका सबै क्षेत्रको विकासबाट मात्र राष्ट्रको विकास हुने बताए। उनले भने,– ‘‘मुलुकलाई चलचित्र गन्तव्य बनाउन र चलचित्र उद्योगलाई विकासित गर्न हामी लाग्नेछौँ । तपाईँहरू यस क्षेत्रको उत्थानमा लाग्नुस्, सरकार कलाकारको साथमा छ ।’’ प्रधानमन्त्रीले सङ्घको कार्यालय भवनका लागि आफूले प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा सङ्घले सञ्चालन गरेको प्रथम फ्यान सम्मान, २०७२ बाट वरिष्ठ गायक, नाट्यकर्मी तथा चलचित्र अभिनेता हरिप्रसाद रिमाललाई सम्मान गरियो । सम्मानका साथ रु. १ लाख ११ हजार एक सय ११ छ । प्रधानमन्त्री ओली र सूचना तथा सञ्चारमन्त्री शेरधन राईबाट सो सम्मान प्रदान गरियो ।
विसं १९८२ असोज २ मा जन्मनुभएका रिमाल नाट्य प्रशिक्षक हुनाका साथै ‘आमा’, ‘सिन्दुर’, ‘के घर के डेरा ?’, ‘प्रीति’ जस्ता चलचित्रमा अभिनय समेत गरेका छन् । यसैगरी फ्यानको विशेष सम्मानबाट नायक राजेश हमाल, नायिका रेखा थापा र चलचित्र कलाकार अनमोल केसीलाई पनि सम्मान गरियो । रासस