newskoseli.Com

विद्युतको मूल्यवृद्धि फिर्ता नभए संघर्ष : चन्द माओवादी

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले विद्युत् महशुल वृद्धि गर्ने सरकारको निर्णयबारे पार्टीको धारणा सार्वजनिक गर्दै महशुलवृद्धि तत्काल फिर्ता लिन चेतावनी दिएको छ । यदि तुरुन्तै महशुलवृद्धिको निर्णय फिर्ता नलिइए देशव्यापी रुपमा कडा संघर्षमा जाने चेतावनी माओवादीले दिएको छ ।

‘ओली सरकारको ऊर्जा मन्त्रालयले मुकेशराज काफ्ले प्रबन्ध निर्देशक रहेको नेपाल विद्युत् प्राधिकरणको सिफारिसमा जगतकुमार भुसाल अध्यक्ष रहेको विद्युत् महशुल निर्धारण आयोगले साउन १ गतेदेखि लागू हुनेगरी विद्युत महशुलमा ११.२५ देखि २२.१५ प्रतिशतसम्म मूल्यवृद्धि गर्ने निर्णय गर्यो । विद्युत घाटा र सेवा शुल्कको कारण देखाई गरिएको उक्त मूल्यवृद्धिमा तथ्य त्यो नभई निजी विद्युत् कम्पनीहरुको स्वार्थ, विदेशी विद्युत् कम्पनीबाट महँगो मूल्यम विद्युत् आयात गर्ने रणनीति, विद्युतको खरिदमा डलरको खेती र विद्युत् प्राधिकरण, विद्युत् महशुल निर्धारण आयोग तथा सम्बन्धित मन्त्रालयका सचिव एवं सरकारको भ्रष्टाचार एवं कमिसनको खेलो गर्ने उद्देश्य अन्तर्निहित भएको कुरा सजिलै बुझ्न सकिन्छ’, चन्द माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ– ‘यसर्थ, हाम्रो पार्टी विद्युत् महशुल वृद्धि गर्ने सरकारको यो निर्णयको घोर भर्त्सना एवं निन्दा गर्दछ । नेपाल राष्ट्र र नेपाली उपभोक्ताको टाउकोमा गिर खेल्ने सरकारको यो निर्णय तुरुन्त फिर्ता गर्न हाम्रो पार्टी सरकारलाई कडा चेतावनी दिन्छ । यदि यो निर्णय फिर्ता लिइएन भने पार्टी देशव्यापी रुपमा यसका विरुद्ध कडा संघर्षमा जाने विषयलाई समेत समयमै अवगत गराउँदछ ।’

राजनीतिक क्षेत्रका दलालहरु र प्रशासनिक क्षेत्रका नोकरशाहहरुको खेलो बन्द गर्न चेतावनी दिँदै प्रवक्ता विश्वकर्माले लेखेका छन्– ‘विद्युत् अधिकार जनताको आधारभूत आवश्यकता आवासभित्रको पानीपछिको दोस्रो महत्वपूर्ण पक्ष हो । जलस्रोतमा विश्वकै दोस्रो धनी देशमा कथित संघीय लोकतान्त्रिक गणतन्त्रका शासकहरुले जलस्रोत उपयोगको राष्ट्रिय रणनीति विकास गरेर विद्युत् उत्पादन गरी जनता र राष्ट्रको आवश्यकतालाई पहिलो र विद्युत् व्यापारलाई दोस्रो प्राथमिकतामा राखी कार्य आरम्भ गर्नुको सट्टा देशका जलस्रोतहरु विदेशी शक्तिलाई बुझाएर राष्ट्रघात गर्ने र उपलव्ध विद्युतमा निजी कम्पनीको स्वार्थ सुनिश्चित गरी भ्रष्टाचार, कमिसन तथा विद्युत् चुहावटको खेती गर्नमा राजनीतिक क्षेत्रका दलालहरु र प्रशासनिक क्षेत्रका नोकरशाहहरु ज्यान फालेर लागेका छन् ।’

विज्ञप्तिको अन्त्यमा उनले उल्लेख गरेका छन्– ‘यिनलाई राष्ट्र र जनता भाँडमा जाओस्, कुनै न्यूनतम चासो छैन । यसर्थ, जलस्रोतको रक्षा एवं राष्ट्रिय उपयोग, मौजुदा विद्युतको सुपथ मूल्यमा न्यायोचित वितरण, वृद्धि गरिएको चर्को मूल्यको खारेजी, डलरको मूल्यमा भइरहेको भ्रष्टाचार र कमिसनको अन्त्यका लागि एकपल्ट नेपाली जनताले निर्णायक क्रान्ति गर्नुको विकल्प छैन । यसका निम्ति आफूलाई तयारी अवस्थामा राख्न स्वाभिमानी एवं स्वतन्त्रताका पक्षधर न्यायप्रेमी नेपाली जनसमुदायमा हार्दिक अपिल गर्दै, तत्काल विद्युतमा गरिएको चर्को मूल्यवृद्धि ओली सरकारले फिर्ता नलिए पार्टीले निकट भविष्यमै आह्वान गर्ने देशव्यापी आन्दोलनको कार्यक्रममा सहभागिताका निम्ति पूर्वतयारी अवस्थामा रहन हाम्रो पार्टी आम नेपाली जनसमुदायमा हार्दिक आह्वान गर्दछ ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर