newskoseli.Com

माओवादीद्वारा भक्तपुरमा डेढसय रोपनी जग्गा कब्जा

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले भक्तपुरस्थित एक प्लानिङको जग्गा कब्जामा लिएको छ । चाँगुनारायण नगरपालिका– १३, दुवाकोटस्थित प्लानिङ अवैध रुपमा चल्दै आएको भन्दै सोमबार बिहान ११ बजे माओवादीसम्बद्ध अखिल नेपाल किसान संघ (क्रान्तिकारी) ले १ सय ५० रोपनी जग्गा कब्जा गरेको हो ।

जग्गा व्यापारी कालु गुरुङले सार्वजनिक सम्पत्तिका रूपमा रहेको प्राकृतिप्रदत्त खहरेखोला क्षेत्र वरपरको सार्वजनिक जग्गा हडप्दै स्थानीयवासीलाई गम्भीर असर पुग्नेगरी मालपोत कार्यालयबाट अवैध रुपमा आफ्नो कम्पनीको नाममा पास गराएर प्लटिङ गरी बिक्रीको तयारी गरिहेको भन्दै माओवादीले पार्टीको झन्डा गाडेर कब्जा गरेको हो ।

स्थानीयले लामो समयदेखि सार्वजनिक जग्गा संरक्षण गर्दै आफूहरूको विरोधको सम्बोधन गर्न स्थानीय प्रशासनसँग पटकपटक आग्रह गरे पनि त्यसको सुनुवाई नभएपछि सामाजिक हितको पक्षमा भन्दै सोमबार अपरान्ह माओवादीनिकट किसान संघद्वारा जारी प्रेस विज्ञिप्तमा ‘दलालको हातबाट खोसेर जग्गा कब्जा गरिएको’ जनाइएको छ ।

क्रान्तिकारीका भक्तपुर अध्यक्ष आमुक क्षेत्रीको नेतृत्वमा गएको स्थानीय किसानसहित १ सयको टोलीले जग्गा कब्जा गरेको थियो । विज्ञप्तिमा जग्गा कब्जा गर्नुका ५ कारण उल्लेख गरिएको छ ।

माअाेवादीले दावी गरेका कारणहरुमा प्राकृतिक खहरे खोला मासेर प्लानिङ गरिएको, खेतीयोग्य जमिन नष्ट हुनेगरी प्लानिङ गरिएको, सयौं किसानलाई सुकुम्बासी बनाएको, प्लानिङले अन्य किसानहरुको निजी खेतीयोग्य जमिनमा नोक्सानी पुर्याएको र पर्ती जग्गा मिची प्लानिङ गरिएको लगायतका कारणहरू उल्लेख छ ।

कब्जा गर्ने क्रममा जग्गा प्लानिङको काम गरिरहेका मानिसहरुको उपस्थिति रहेको र उनीहरूले समेत मालिकसँग तत्काल जमिन छाड्न माग गर्दै नाराबाजीमा भाग लिएका थिए ।

जग्गा माफियाका रुपमा चिनिएका गुरुङले स्थानीयवासीहरूलाई झुक्याएर घुसखोर कर्मचारीहरूको आडमा सार्वजनिक जग्गा आफ्नो नाममा पारेको स्थानीयहरुको भनाइ छ ।

कब्जा गरिएको जमिन फर्काउने र सोही जग्गामा फेरि प्लटिङ सञ्चालन गर्ने प्रयास नगर्न तथा सो जग्गा खरिदबिक्री नगर्न चेतावनी दिँदै माओवादीले यदि त्यसो गरिए ‘जग्गादलाल र तिनका आसेपासेमाथि कडा कारबाही गर्ने’ चेतावनी दिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर