
अाफूहरूले बाध्य भएर प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नुपरेको नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले बताएका छन् । कांग्रेस, माओवादी केन्द्र र नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) ले बुधबार वर्तमान नयाँबानेश्वरस्थित व्यवस्थापिका–संसद् भवनमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि त्यस्ताे बताएका हुन् ।
प्रस्ताव दर्ता गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले सरकार अल्पमतमा परेपछि प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए । प्रमुख सत्तासाझेदार दल माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउँदै उनले भने– “हामीले राजनीतिक रिक्ततालाई अगाडि बढाउन अविश्वासको प्रस्ताव दर्ता गरेका हौं ।”
उनले माओवादी केन्द्रको पहलकदमीमा कांग्रेसले उक्त प्रस्ताव दर्ता गरेको बताए । कांग्रेस, माओवादी केन्द्र र नेपाल कम्युनिस्ट पार्टी संयुक्तले दर्ता गरेको सो प्रस्तावमा वर्तमान सरकार भूकम्पपछिको पुनर्निर्माणलाई तीव्रता दिन, मुलुकमा सुशासन कायम गर्न, संविधानप्रति असन्तुष्ट दल र पक्षलाई सहमतिमा ल्याउन, शान्ति प्रक्रियाका बाँकी कामलाई सहमतिमा टुङ्ग्याउन पूर्णरुपमा असफल भएकाले प्रस्ताव दर्ता गर्नुपरेको उल्लेख छ ।
प्रस्तावमा सरकारमा सहभागी दोस्रो ठूलो दलले समर्थन फिर्ता लिइसकेको अवस्थामा सरकार अल्पमतमा परे पनि राजीनामा गरी मार्गप्रशस्त नगरेकाले अविश्वासको प्रस्ताव दर्ता गर्नुपरेको उल्लेख छ ।
प्रस्ताव दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आफूहरुले संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको वातावरण बनाउन सबैसँग छलफलको प्रयास गरिरहेको जानकारी दिए । ‘‘हामीले वर्तमान सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छौं, अब संविधान र संसद् नियमावलीअनुसार प्रक्रिया अघि बढ्छ” उनले भने ।
कांग्रेस केन्द्रीय समिति र माओवादी संसदीय दलका बुधबार बिहान छुट्टाछुट्टै बसेका बैठकले सरकार अल्पमतमा परेकाले प्रधानमन्त्री ओलीले राजीनामा नदिए अविश्वासको प्रस्ताव दर्ता गर्ने निष्कर्ष निकालेका थिए ।