newskoseli.Com

नेपालले विश्वलाई शान्तिको पाठ सिकायो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जन्मभूमि नेपालले विश्वलाई शान्तिको पाठ सिकाएको बताएका छन् । धर्मकीर्ति बिहार नघलका अध्यक्ष भिक्षुणी धम्मवतीको ८३औं जन्मोत्सवका अवसरमा बिहीबार राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा ओलीले विश्वलाई शान्तिको सन्देश दिनुका साथै विश्व बान्धुत्व, भ्रातृत्व र मानवजातिको सर्वोपरी कल्याणको उपाय बुद्धले सिकाएको उल्लेख गरे ।

उनले भने– ‘‘बुद्धले हामीलाई शान्तिको मार्गदर्शन गर्नुभएको छ । त्यसकारण हामीले उहाँको २५६०औं जन्मजयन्तीका अवसरमा लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना गरेका हौँ, जसले गर्दा बुद्धका सन्देश संसारभर फैलन पुगेको छ ।’’

उनले नेपाल बुद्धको जन्मभूमि मात्र नभएर बौद्ध धर्म र दर्शनको स्रोत पनि भएको बताए । बुद्धले देखाएको मध्यमार्ग र शान्तिको बाटो विश्वकै लागि प्रेरणादायी रहेको उनले स्पष्ट पारे । लुम्बिनी विकासका लागि पर्याप्त बजेट छुट्याइएको उल्लेख गर्दै ओलीले त्यहाँको विकास छिटोछरितो रुपमा गर्न निर्देशन दिएको पनि बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले लुम्बिनीको विकास गर्न जापानी प्रोफेसर केन्जो ताङ्गेले पेस गरेको गुरुयोजना आगामी ३ वर्षभित्र पूरा गर्नेगरी कार्य अगाडि बढाइएको बताए । उनले ५ हजार व्यक्ति अटाउने हल निर्माणकार्य पनि अगाडि बढेको जनाउँदै १ वर्षभित्र निर्माण पूरा भइसक्ने जानकारी दिए ।

बिहारका अध्यक्ष भिक्षुणी धम्मवतीले सरकारले बुद्धपूर्णिमाको अवसरमा आयोजना गरेको बौद्ध सम्मेलनले विश्वभर बुद्ध धर्म र शान्तिको सन्देश फैलाउन मद्दत पुगेकामा खुसी व्यक्त गरिन् । भिक्षुणीले त्यसका लागि प्रधानमन्त्री र पर्यटनमन्त्रीलाई सधन्यवाद सम्मानपत्र समेत प्रदान गरिन् । सम्मानपत्र ग्रहण गर्दै प्रधानमन्त्री ओली र पर्यटनमन्त्री पोखरेलले जन्मदिनका अवसरमा भिक्षुणी धम्मवतीको सुस्वास्थ्य र दीर्घायुको कामना गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर