newskoseli.Com

को–को दोहोरिँदैछन् माओवादी मन्त्री ? परराष्ट्रमा राम कार्की !

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार बन्ने चहलपहल चलिरहेका बेला कांग्रेस र माओवादीका भागका कुन–कुन मन्त्रालय पर्दछन् भन्नेतिर पनि धेरैको ध्यान खिँचिन थालेको छ । त्यसैगरी कांग्रेस तथा माओवादीका तर्फबाट को–को मन्त्रीमण्डलमा सामेल हुने र क–कसले कुन–कुन मन्त्रालय सम्हाल्ने भन्नेमा पनि भित्रभित्रै गृहकार्य तथा दौडधुप चलिरहेका खबर प्राप्त भएका छन् ।

माओवादी केन्द्रका तर्फबाट ओली मन्त्रीपरिषदका एकाध दोहोरिने सम्भावना समाचार स्रोतले औंल्याएको छ । दाहाल नेतृत्वको मन्त्रीमण्डलमा टोपबहादुर रायमाझी र गिरिराजमणि पोख्रेलको सहभागिता रहने सम्भावना प्रबल भएको समाचार स्रोतको दावी छ । त्यसैगरी माओवादी केन्द्रका तर्फबाट तर्कशील, बौद्धिक एवम् अध्ययनशील व्यक्तित्वका मानिने र परराष्ट्र मामिला एवम् अन्तर्राष्ट्रिय सम्बन्धका जानकार राम कार्कीले परराष्ट्र मन्त्रालय सम्हाल्ने पक्कापक्कीजस्तै भइसकेको माओवादी केन्द्रका एक प्रभावशाली नेताले न्युजकोसेलीलार्इ बताए ।

माओवादीका तर्फबाट अहिलेसम्म मन्त्रीपरिषद तथा राज्यका उपल्लो ओहदामा पुग्नेहरूमा सबैजसो पश्चिमका नेताहरू रहँदै आएको भनी माओवादी केन्द्रमा चर्को बहस हुने गरेको छ । सबै भूमिकामा पश्चिमका नेताहरू मात्रै भएको भन्दै नन्दबहादुर पुनलार्इ उपराष्ट्रपतिमा प्रस्ताव गर्ने सिलसिलामै पूर्वका नेता गोपाल किराती (खम्बु) ले उपराष्ट्रपति पदमा आफ्नो सशक्त दावेदारी प्रस्तुत गरेका थिए ।

क्षेत्रीय एवम् भेगीय असन्तुलनको चर्को आवाज उठेपछि त्यतिबेला अध्यक्ष दाहालले ‘यसपालिलार्इ जे भयो– भैगो, अर्को पटक अवसर आउँदा राम्रैसँग विवेक पुर्याउँला’ भनेर नेताहरूको चित्त बुझाउने प्रयास गरेका थिए । अहिले क्षमतावान्, बौद्धिक र विषयविज्ञ कार्कीलार्इ परराष्ट्रमन्त्री बनाएर माओवादी केन्द्रले पूर्व–पश्चिमको सन्तुलन मिलाउने ठोकुवा ती नेताले न्युजकोसेलीसँग गरे ।

लामो समयदेखि प्रवास मामिला, अन्तर्राष्ट्रय सम्बन्ध र कूटनीतिमा विशेष दख्खल राख्दै आएका कार्की माओवादी राजनीतिमा बौद्धिक नेताका रुपमा परिचित छन्। हाल नेकपा (माओवादी केन्द्र) प्रदेश नं. १ का संयोजक समेत रहेका कार्की डा। बाबुराम भट्टरार्इ नेतृत्वको सरकारका पालामा भारतका लागि राजदूतमा सिफारिस भए तापनि उताबाट एग्रिमो आएन ।

पञ्चायतकालमा माओवादी राजनीति, संगठन र विचार स्थापनाका लागि दुःख गरेका कार्कीले जनयुद्धकाल र त्यसयताको राजनीतिमा पनि महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् । हालसम्म कुनै राजकीय जिम्मेवारी र लाभको पद सम्हाल्ने अवसर नपाएका र १ नं. प्रदेशकै सबैभन्दा सिनियर सभासद समेत रहेका कारण यसपटक उनले परराष्ट्रमन्त्रीको जिम्मेवारी पाउने सुनिश्चित देखिएको माओवादी नेताहरूको दावी छ। विगतमा बाबुरामसँग नाम जोडिने गरेका कार्की बाबुराम माओवादीबाट बाहिरिनु अघिदेखि नै प्रचण्डका भरपर्दा ‘थिंक ट्याङ्क’ रहिआएका छन्।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर