newskoseli.Com

चन्द माओवादीले घोषणा गर्‍यो १० दिने ‘संघर्ष’

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले साउन १० गते नेपाल बन्द सहितका कडा संघर्षका कार्यक्रम घोषणा गरेको छ । सर्लाहीको सुकुम्वासी वस्तीमा सरकारले ‘दमन जारी राखेको’ भन्दै चन्द माओवादीले बन्दको घोषणा गरेको हो ।

राजधानीस्थित संवाद डबलीमा शुक्रबार माओवादीको केन्द्रीय कार्यालयद्वारा आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माद्वारा वितरित प्रेस विज्ञप्तिमा सो कुरा जनाइएको छ ।

सरकारले सुरक्षा फौज परिचालन गरेर सर्लाहीको सागरनाथ सुकुम्बासी वस्तीमाथि ‘बर्बरतापूर्ण दमनचक्र जारी राखेको’ भन्दै विरोधस्वरुप नेपाल बन्दको घोषणा गरिएको माओवादी नेता विश्वकर्माको जिकिर छ ।

विज्ञप्तिमा विरोधका संघर्षको पहिलो चरणका कार्यक्रम भन्दै साउन १ देखि १० गतेसम्म विभिन्न कार्यक्रम उल्लेख गरिएका छन् । प्रवक्ता विश्वकर्माले सुकुम्बासीमाथि सरकारको दमन तत्काल बन्द गर्न आग्रह गर्दै भने– ‘दमन तुरुन्त बन्द नगरे नेकपा माओवादीले त्यसको निर्मम प्रतिवाद गर्छ, यो कुरा राज्यले समयमै बुझ्नुपर्छ ।’

घोषित कार्यक्रमअनुसार साउन १ गते देशव्यापी पत्रकार सम्मेलन तथा भण्डाफोर, २ गते बिहान ९–११ बजेसम्म देशव्यापी चक्काजाम, ३ गते देशव्यापी अन्तत्र्रिmया, ५ गते देशव्यापी जनप्रदर्शन र १० गते नेपाल बन्द रहेका छन् । बन्दका क्रममा स्वतन्त्र र निष्पक्ष ढंगबाट अनुगमन गर्न मानवअधिकारवादी संघ–संस्थालाई विशेष आग्रह गरिने समेत माओवादी जनाएको छ ।

नेता विश्वकर्माले ‘राज्यको बर्बर दमन हेर्न’ सागरनाथ वस्तीमा पुग्न पत्रकारहरुलाई आग्रह गरे । ‘तपाईं पत्रकार मित्रहरु एकचोटि सर्लाहीको सागरनाथ पुग्नु जरुरी छ । आफ्ना सुकुम्बासी जनतालाई सरकारले कस्तो व्यवहार गरेको छ, त्यो त्यहाँ पुग्नेलाई स्पष्ट हुन्छ’– उनले भने ।

घटनाको वास्तविक तथ्य उजागर गर्न पनि सञ्चारकर्मीहरुसँग विश्वकर्माले आग्रह गरे । ‘बाहिरबाट हेर्दा सरकारले केही नगरेको जस्तो देखाइएको छ तर घटनालाई राज्यले निर्मम बनाएको छ । त्यो दृश्य त्यहाँ पुगेर मात्र थाहा हुन्छ’– उनको भनाइ छ ।

सुकुम्बासीमाथि दमन बन्द गरेर घाइतको निःशुल्क उपचार गर्न र सुकुम्बासीको भौतिक सम्पत्तिको क्षतिपूर्ति दिन उनले सरकारसँग माग गरे । प्रहरी आक्रमणबाट सुकुम्बासी सञ्जीव बम्जनको बायाँ आँखा गुमेको र नाकबाट छिरेको गोली टाउकामा पुगेर अड्किएको चितवन मेडिकल कलेजले जनाएको छ । घटनामा १२ सख्त घाइते भएका छन् । त्यस क्रममा सयौंथान अश्रुग्यास, रबर र सिसाका गोली प्रहार गरिएको माओवादीले जनाएको छ ।

सागरनाथमा करिब ५ हजार सुकुम्बासी बसोबास गर्दै आइरहेका छन् । हिमाल, पहाड र तराईबाट गएका बाढीपहिरोपीडित तथा द्वन्द्वपीडितहरुले त्यहाँ आश्रय लिएका छन् । उनीहरुलाई सरकारले नै ०६६ सालदेखि औचारिक निर्णय गरेर त्यहाँ राखेको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर