newskoseli.Com

‘एकमुष्ठ सहमति’ को कसरतमा ३ दल

आपसी विवादका कारण बिहीबार निर्धारित संसदको बैठक बस्न नसकेपछि कांग्रेस, एमाले र माओवादी केन्द्रले एकमुष्ठ सहमतिको कसरत थालेका छन् । संसदको कार्यसूचीका सम्बन्धमा प्रमुख राजनीतिक दलबीच देखिएको विवादलाई समाधान गर्न एकमुष्ट सहमतिका प्रयासमा छलफल सुरु भएको हो ।

दलहरूबीच सरकारका विरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव र बजेटसँग आश्रित विधेयकमध्ये पहिले कुनलाई अगाडि बढाउने भन्ने विवाद यथावत् छ । विवाद समाधानका लागि प्रमुख दलका शीर्ष नेताले बिहीबार दिनभरि नै छलफल गरे पनि कुनै निष्कर्ष निस्कन नसकेपछि संसदको बैठक सूचना टाँस गरेर स्थगन गरिएको छ ।

संसद भवन नयाँ बानेश्वरमा सभामुख ओनसरी घर्तीको समन्वयमा प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच सहमतिका लागि छलफल भएको थियो । सभामुख घर्तीले शीर्ष नेतासँगको छलफलपछि सकारात्मक संवाद भएको र शुक्रबारको संसद् बैठक अगाडि नै सहमति जुट्ने विश्वास व्यक्त गरिन् ।

शीर्ष नेताको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस सभापति देउवाले ३ दलबीच कुरा नमिलेको जानकारी दिए । उनले भने– “प्रधानमन्त्री एकातिर अविश्वासको प्रस्ताव सामना गर्छु भन्नुहुन्छ, अर्कोतिर अाफैंले अविश्वासको प्रस्ताव अघि बढाउन नदिने काम पनि गर्नुभएको छ ।”

निकासका लागि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राखेको प्रस्तावमा सकारात्मक छलफल भए पनि दलीय अडानले कुनै निर्णयमा पुग्न सकिएको छैन । फेरि शुक्रबार शीर्ष नेताबीच पुनः छलफल हुने र संसद् बैठक अगाडि नै सहमति खोज्ने सहमति भएको छ ।

नेता पौडेलले सहमति खोज्न बजेटसँग सम्बन्धित विधेयक पास गर्ने, संसदमा दर्ता अविश्वासको प्रस्ताव फिर्ता लिने, प्रधानमन्त्रीले राजीनामा दिने र नयाँ सरकार गठनको प्रक्रियामा जाने प्रस्ताव अाफूले राखेको जानकारी दिए । उनले प्रमुख दलबीच सहमति जुटाउँदै संविधान कार्यान्वयनलाई अघि बढाउन एकमुष्ट सहमति गर्नुपर्ने बताए ।

वरिष्ठ नेता पौडेलले प्रस्तुत गरेको प्रस्ताव प्रधानमन्त्री ओलीले अस्वीकार गर्दै नयाँ सरकार गठनका लागि संविधान संशोधन गर्नुपर्ने अडान राखेको कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले जानकारी दिए । सो प्रस्तावका सम्बन्धमा प्रधानमन्त्री ओलीले आफ्नो पार्टी र सरकारमा सहभागी अन्य पार्टीसँग छलफल गर्ने बताएपछि संसदको बैठक शुक्रबार अपराह्न २ बजेका लागि सारिएको हो ।

एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले सहमतिका लागि शीर्ष नेताबीच विविध आयाममा छलफल भएको जानकारी दिँदै दलबीच उत्पन्न अविश्वासलाई विश्वासमा रुपान्तरण गरिने बताए । उनले पुनः शुक्रबार १२ बजे शीर्ष नेताको बैठक बस्ने र सहमतिको प्रयास गरिने उल्लेख गरे ।

माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले वरिष्ठ नेता पौडेलको प्रस्तावमाथि छलफल भएको जानकारी दिँदै सहमतिका लागि थप १ दिन संसद् बैठक सारिएको बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर