newskoseli.Com

फिर्ता नहुने भयो अविश्वासको प्रस्ताव : अस्वीकृत भयो रामचन्द्रको प्रस्ताव

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ३ दलबीच सहमतिको फर्मूला भन्दै अघि सारेको प्रस्ताव अस्वीकृत भएको छ । पौडेलको प्रस्ताव अस्वीकृत भएसँगै प्रधानमन्त्री केपी ओलीविरूद्ध दर्ता अविश्वासको प्रस्ताव फिर्ता भर्इ ठूला ३ दलबीच सहमतिको आधारमा नयाँ राजनीतिक कोर्ष सुरू हुने सम्भावना सकिएको छ ।

बिहीबार २ पटक बसेको ठूला ३ दलको बैठकमा नेता रामचन्द्र पौडेलले अविश्वासको राजीनामा दिन प्रम ओली तयार भए अविश्वासको प्रस्ताव फिर्ता लिइने तीनै दलको सहमतिमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएर सहमतिको आधारमा संविधान कार्यान्वयन प्रक्रिया सहज हुने प्रस्ताव प्रस्तुत गरेका थिए ।

तर, शुक्रबार बिहान कांग्रेस संसदीय दलको कार्यालयमा बसेको ३ दलका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री ओलीले कुनै हालतमा राजीनामा नदिने अड्डी लिएपछि कांग्रेस–माओवादीले कुनै हालतमा पनि अविश्वासको प्रस्ताव फिर्ता नलिइने निर्णय गरे ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस नेता विमलेन्द्र निधिले अविश्वासको प्रस्ताव कुनै हालतमा फिर्ता नहुने बताए । उनले आजउप्रान्त केपी ओलीसँग प्रधानमन्त्रीको पदबाट राजीनामा पनि नमागिने बताए । अब संसदमा बजेटआश्रित विधेयक नभर्इ सिधै अविश्वासको प्रस्तावमा छलफल गर्नुको कुनै विकल्प बाँकी नरहेको निधिले उल्लेख गरे ।

कांग्रेस, माओवादी केन्द्र र मधेसवादी दलको संयुक्त बैठकमा भने आगामी सरकारको संरचना र पावर शेयरिङको विषयले प्रवेश पाएको छ । बैठकमा मोर्चाका नेताहरुले मन्त्रीपरिषदमा भागबन्डाभन्दा पहिले आफूहरूका माग सम्बोधनको सुनिश्चितता मागेको बैठक स्रोतले न्युजकोसेलीलार्इ बतायो ।

कांग्रेस–माओवादीबीच भएको ७ बुँदे सम्झौतामै मधशेवादीका मागबारे सुस्पष्ट सहमति उल्लेख भइसकेकाले शंका गरिरहनु नपर्ने भन्दै बैठकमा कांग्रेस र माओवादीका नेताहरूले मधेशवादी नेताहरूलार्इ आश्वस्त पार्ने प्रयास गरे ।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले ७ बुँदे सहमतिको पहिलो नम्बरकै बुँदामा प्रष्ट प्रतिबद्धता जनाइएअनुसार नै मधेसवादीका माग सम्बोधन हुने उल्लेख गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर