
नेपाल विद्यार्थी सङ्घको सक्रियतामा निर्माण भएको विद्यालय भवन बिहीबार विद्यालय परिवारलार्इ हस्तान्तरण गरिएको छ ।
गत वर्ष वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षति पुगेको कीर्तिपुर माध्यमिक विद्यालयमा भूकम्प प्रतिरोधात्मक चारकोठे भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
नेपाल विद्यार्थी सङ्घका अध्यक्ष रञ्जित कर्णको वास्तुकलामा निर्माण भएको सो भवनलाई नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले हस्तान्तरण गरेका हुन्।
नेता सिंहले भूकम्प गएको एक वर्ष बितिसक्दा पनि सरकारले काम गर्न नसक्नु दुःखद् कुरा भएको उल्लेख गरे । उनले भने– ‘भूकम्प र नाकाबन्दीले जनता गाँस, बास र कपासको समस्यामा छन् । यसलाई सरकारले चाँडो पूरा गर्नुपर्छ ।’
उनले संविधान कार्यान्वयन र पुनर्निर्माणमा नेपाली कांग्रेसले कडा प्रतिपक्षको भूमिका खेल्ने पनि स्पष्ट पारे । नेविसङ्घका पूर्वअध्यक्ष गोविन्द भट्टराईले नेविसङ्घले भूकम्पपछि पुनर्निर्माणमा खेलेको भूमिकाको सराहना गरे ।
नेविसङ्घका अध्यक्ष कर्णले नेविसङ्घलाई अब शैक्षिक मुद्दामा केन्द्रित गरेर अगाडि लैजाने बताए । भवन दुई लाख ५० हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो ।