newskoseli.Com

बक्राहा खोला गाउँ पस्दा मधुमल्लाका ६१ घर डुबानमा

लगातार परेको पानीले बक्राहा खोलामा पानीको बहाव बढेपछि मधुमल्ला– ५ को बेतेनीबाट खोला बस्तीमा पसेको छ । यस वर्ष खोलाले पटक– पटक बाँध कटान गरेपछि लगाइएको बालुवाको बाँध भत्काएर खोला शनिबार बिहान बेतेनीको गाउँतर्फ पसेको हो ।

खोला गाउँ पस्दा ६१ घर बाढीले डुबेको स्थानीय पत्रकार सन्तोष गौतमले बताए । सो स्थानबाट यसअघि पनि २ पटक खोला गाउँ पसेको थियो ।

यस्तैगरी मधुमल्ला– ४ र ५ मा पर्ने धप्पर टोलमा समेत खोलाको कटानले बाढी पस्न लागेकाले त्यहाँका स्थानीय बासिन्दा त्रासमा रहेको बक्राहा नदी नियन्त्रण उपभोक्ता संस्थाका अध्यक्ष मित्र भण्डारीले बताए ।

अहिलेसम्म कुनै मानवीय क्षति भने नभएको तर अविरल वर्षाका कारण उद्धारमा भने समस्या भएको इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रहरी नायब निरीक्षक यदुकुमार खड्काले बताए ।

असार ७ गते बक्राहा खोलामा आएको भीषण बाढीले मधुमल्ला– ५ को माथिल्लो कसेनी, मधुमल्ला– ४ को धप्पर टोल र मधुमल्ला– ५ को बेतेनीमा गरी ३ ठाउँबाट खोला गाउँ पस्दा ५० भन्दा बढी घरपरिवार विस्थापित हुनुका साथै २सयभन्दा बढी घर डुबानमा परेका थिए । सो क्षेत्रमा ३ सय बिघाभन्दा बढी खेतीयोग्य जमिन बगरमा परिणत भएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर