newskoseli.Com

‘राजतन्त्र हट्नु अन्धविश्वास र आधारहीन व्यवस्था हट्नु’

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन गरिएको छ । बिहीबार बसेको मूल समारोह समितिको बैठकले जेठ १५ गते गणतन्त्र दिवस मनाउने सिलसिलामा जेठ १४ देखि १६ गतेसम्म तीन दिन देशभित्र र देशबाहिर रहेका नेपाली नियोगहरुमा विविध कार्यक्रम गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा कामु प्रधान न्यायाधीश सुशीला कार्की, सभामुख ओनसरी घर्ती, उप्रधानमन्त्रीहरु, मन्त्रीहरु, पूर्व प्रधानमन्त्रीहरुलगायत रहनुभएको मूल समारोह समिति गठन गरिएको छ ।

सूचना तथा सञ्चारमन्त्री शेरधन राईको संयोजकत्वमा मन्त्रालयका सचिव दिनेशकुमार थपलिया, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक, नेपाल टेलिभिजनका अध्यक्ष, गोरखापत्र संस्थानका अध्यक्ष, रेडियो नेपालका कार्यकारी निर्देशकलगायत रहेको प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।

बैठकले जेठ १४ गते गणतन्त्र दिवस मनाउन सञ्चारमाध्यमलाई सार्वजनिक अपिल गर्ने, सञ्चारमाध्यमबाट गणतन्त्रसम्बन्धी लेख रचनाको सङ्गालो प्रकाशन गर्ने र साँझ दीपावली गर्ने कार्यक्रम तय गरेको छ ।

जेठ १५ गते गणतन्त्र दिवसका दिन सूर्योदयका साथ नेपाली सेनाद्वारा बिगुल बजाउने, तोप र बन्दुकको बढाइँ गर्ने, मठमन्दिर, मस्जिद, बौद्ध विहार, गिर्जाघरलगायतका धार्मिकस्थलमा पूजापाठ तथा प्रार्थनाको कार्यक्रम गरिने छ ।

सोही दिन बिहान ८ बजे मूल समारोह समितिका अध्यक्ष तथा सदस्यहरु, राजनीतिक दलका नेता, कार्यकर्ता, खेलाडी, मजदुर, किसान, सर्वसाधारण टुँडिखेलमा उपस्थित हुने कार्यक्रम छ ।

समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुखलगायतका उच्च पदस्थ व्यक्तित्वहरुको समेत उपस्थिति रहनेछ । सुरक्षा निकाय, खेलाडी, विद्यार्थीबाट मार्चपास, विविध कार्यक्रम र झाँकी प्रदर्शन गरिनेछ । सोही दिन साँझ दीपावली गरिने छ ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वास्तविक लोकतन्त्रमा गणतन्त्र अनिवार्य रहेको बताए। प्रम अाेलीले जनता सार्वभौम भएको दिनका रुपमा गणतन्त्र दिवसलाई भव्य र उल्लासमय वातावरणमा मनाउन आग्रह गर्दै दिवसलाई जनस्तर र नयाँपिँढीमा लैजान आवश्यक रहेकाे बताए।

“राजतन्त्र हट्नु भनेको अन्धविश्वास र आधारहीन व्यवस्था हट्नु हो । समाज आधुनिक हुन पनि गणतन्त्र आवश्यक छ ।” प्रम अाेलीकाे भनाइ थियाे ।

बैठकले देश तथा बिदेशमा रहेका नेपालीहरूलार्इ गणतन्त्र दिवस भव्य रूपमा मनाउँन पनि अाग्रह  गरेकाे छ ।

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर