आफूहरूले नेपालको संविधानको विरोध नगरेको मधेशवादी नेताहरूले बताएका छन् । संविधानभित्रका केही विभेदकारी धाराहरूको मात्रै आफूहरूले विरोध गरेको उनीहरूको कथन छ ।
शनिबार जारी संसदको बैठकलार्इ सम्बोधन गर्दै तराई–मधेस लोकतान्त्रिक पार्टीका सर्वेन्द्रनाथ शुक्लले आफूहरुले नेपालको संविधानको समग्र स्वरुपको विरोध गरेको नभई संविधानमा रहेका विभेदकारी धारालाई मात्र अस्वीकार गरेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सदनमा प्रस्तुत भएको अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले राष्ट्रिय समस्याका रुपमा रहेको मधेसको विषयलाई लिएर आफूहरुले निरन्तर आन्दोलन गरे पनि सरकारले बेवास्ता गरेको आरोप लगाए । प्रधानमन्त्री पदमुक्त हुने तर कुर्सीचाहिँ छाड्नु नपर्ने कस्तो संविधान निर्माण भएको भनी प्रश्न गर्दै नेता शुक्लले आफूहरुले उनको विपक्षमा मतदान गर्ने बताए ।
सदभावना पार्टीका लक्ष्मणलाल कर्णले ३ सय ४२ जनाको समर्थन प्राप्त गरेकामा ८२ जनाले समर्थन फिर्ता लिइसकेपछि वर्तमान प्रधानमन्त्रीले पदमा बसिरहन सुहाउने कुरा होइन भने । नेकपा ९माओवादी केन्द्र० ले सङ्घीयता, गणतन्त्र र धर्मनिरपेक्षताका लागि निकै ठूलो योगदान दिएकाले उसको पहलमा मुलुकको सबैभन्दा ठूलो र पुरानो पार्टी नेपाली कांग्रेसलाई समेत विश्वासमा लिएर मधेस आन्दोलनलाई सम्बोधन गर्ने प्रतिबद्धताका साथ ल्याइएको प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावका पक्षमा आफूहरु रहने उनले बताए ।
नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले विदेशीले नेपालमाथि हस्तक्षेप र प्रभुत्व जमाउने उद्देश्यका साथ नेपाली नेतालाई अल्मल्याउन मात्र अविश्वासको प्रस्ताव ल्याउन लगाएको आरोप लगाए । नेकपा (संयुक्त) का जयदेव जोशीले प्रधानमन्त्रीबाट भएको हलुका आवश्वासन र सामाजिक सद्भाव कायम गर्ने मामिलामा देखिएको अवरोध तथा भूकम्पपछिको पुनर्निर्माणमा देखिएको राजनीतीकरणले अविश्वासको प्रस्ताव ल्याउने वातावरण सिर्जना गरेको टिप्पणी गरे । संसदको बैठक जारी छ ।