newskoseli.Com

‘जनसत्ता’ द्वारा ‘दादागिरी’ तोड्ने चन्द माओवादीको चेतावनी

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले वर्तमान सत्ताको ‘बलमिच्याइँ’ र ‘दादागिरी’ राज्यका सञ्चालकहरु स्वयम्ले नियन्त्रण नगरे आफूहरुको नेतृत्वमा संघर्षबाट जन्मेको जनसत्ताद्वारा नियन्त्रण गर्न पहलकदमी लिने चेतावनी दिएको छ ।

‘क्रान्ति र आन्दोलनको आवरणमा सामन्त तथा दलाल पुँजीवादी तत्वहरुले नयाँ–नयाँ रुप धारण गरी दलाल पुँजीवादी राज्यका कथित राजनीतिक, आर्थिक, संवैधानिक, कूटनीतिक, न्यायिक र प्रशासनिकलगायत निकायका मुठ्ठीभर तत्वहरुको दादागिरी, बलमिच्याइँ र मनपरी महान् नेपाली जनता र हाम्रो पार्टीलाई कुनै पनि हालतमा सैह्य हुने छैन’, चन्द माओवादीका प्रवक्ता खड्गबहादु विश्वकर्माद्वारा आइतबार न्युजकोसेलीलाई प्रेषित विज्ञप्तिमा भनिएको छ– ‘यदि यसलाई राज्यका सञ्चालकहरुले नियन्त्रण गरेनन् भने हाम्रो पार्टी र नेपाली जनताले संघर्षबाट जन्मेको जनसत्ताद्वारा नियन्त्रण गर्न पहलकदमी लिने कुराको उद्घोष गर्दछौं ।’

राज्यका विकृति–विसंगतिप्रति तीव्र असन्तुष्टि जनाउँदै प्रवक्ता विश्वकर्माले लेखेका छन्– ‘देश यतिबेला इतिहासकै सर्वाधिक संकटको भुमरीमा फस्दै गइरहेको छ । १० वर्षको महान् जनयुद्ध र १९ दिनको ऐतिहासिक जनआन्दोलनबाट राष्ट्र र नेपाली जनताले राखेको मुक्तिको अपेक्षा कथित १२ बुँदे सहमति र शान्ति सम्झौताको आवरणमा देशी–विदेशी प्रतिक्रियावादीहरुले ध्वस्त पारे । नेपाली जनताको जनयुद्ध, जनआन्दोलन र जनमतको तागत एवं वास्तविकतामा बनेको पहिलो संविधानसभाको हत्या गरी कथित दोस्रो संविधानसभाको नाटकबाट बनाएको संविधानलाई दुनियाँको श्रेष्ठ संविधान, यसले देशमा राजनीतिक स्थायित्व ल्याउने र देशको समृद्धि एवं विकास ‘जादुको छडी’ झैं हुने भनी कोकोहोलो मच्याउने ठूला संसदवादी दलका नेताहरु संविधान जारी भएको ८–१० महिना पुग्दानपुग्दै सत्ता, कुर्सी र राज्यको कोषमा व्यक्तिगत एवम् पार्टीगत प्रभुत्व जमाउनका निम्ति अहिले संसदमा चलाएको फोहोरी खेलले राष्ट्र र नेपाली जनताको शिर एकचोटि फेरि निहुरिएको छ, लज्जाबोध भएको छ । यसले ‘संसदीय व्यवस्थाको राजनीति फोहोरी खेल हो र संसदवादी दल एवम् त्यसका नेता फोहोरी खेलाडी हुन्’ भन्ने कुराको वास्तविकता फेरि एकपल्ट नेपाली राजनीतिमा प्रष्टिएको छ । राष्ट्रमाथि भइराखेको घात, जनताको राजनीतिक अधिकारविरुद्धको षड्यन्त्र, अर्थव्यवस्थामा दलाल, भ्रष्टाचारी, कमिसनखोर, कालोबजारिया, तस्कर, राजश्व छली गर्नेहरुको बिगबिगी, सामाजिक अराजकता एवम् असुरक्षा, दैनिक उपभोग्य वस्तुमा आतंक सिर्जना गर्ने मूल्यवृद्धिलगायतका यावत् समस्याहरु दलाल पुँजीपति वर्ग, त्यसको संसदीय राजनीतिक व्यवस्था र संसदवादी नेताहरुको उपज हो भन्ने कुरा आम नेपाली जनतामा फेरि एकपल्ट पुष्टि भएको छ । देशको वर्तमान चित्रबाट हाम्रो पार्टीले कथित दोस्रो संविधानसभा र त्यसबाट बनेको संविधानले देशमा क्रान्ति होइन प्रतिक्रान्ति, स्वाधीनता होइन डरलाग्दो पराधीनता, स्वाभिमान होइन लज्जास्पद दलाली, विकास एवं समृद्धि होइन डरलाग्दो संकट निम्त्याउनेछ भन्ने निकालेको निष्कर्ष आज फेरि सत्य सावित भएको छ  ।’

प्रा.डा. गोविन्द केसीको पछिल्लो आमरण असनप्रति घुमाउरो भाषामा ऐक्यबद्धता प्रकट गर्दै प्रवक्ता विश्वकर्माले विज्ञप्तिको अन्त्यमा उल्लेख गरेका छन्– ‘देशको चिकित्सा र शैक्षिक क्षेत्र एकाधिकार एवम् दलाल पुँजीपतिको निजी र व्यापारिक विषय बन्न गएको छ । यसले नेपाली श्रमजीवी जनताको मौलिक एवं आधारभूत अधिकारलाई ठाडै चुनौती दिइराखेको छ । त्यति मात्र होइन नेपाली जनताको स्वास्थ्य र शैक्षिक अधिकारलाई खोस्दै गइराखेको छ, यसको अन्त्य पहिलो आवश्यकता हो । स्वास्थ्य र शिक्षा क्षेत्रलाई नेपाली जनताको मौलिक एवम् आधारभूत आवश्यकताका रुपमा राज्यले दायित्व लिनु यस क्षेत्रका समस्याको पूर्ण सामाधान हो । अहिलेको राज्य र यसका सञ्चालक त यति पाखण्डी भए कि न स्वास्थ्य र शिक्षासम्बन्धी जननीति बनाउन सक्छन्, न त उनको विद्यमान नीतिलाई एकरुपतामा लागू नै गराउन सक्छन् । यो अवस्थाको पनि अन्त्य हुनुपर्छ । चिकित्सा र शैक्षिक क्षेत्रका समस्याको यही थुप्रोकै उपज डा. गोविन्द केसीको पटकपटक र अहिलेको आन्दोलन हो । संघर्षको आमरण अनसन स्वरुपमा उहाँले उठाएका जनपक्षीय मुद्धाको सम्बोधन तदारुकताका साथ गरिनुपर्छ भन्ने हाम्रो पार्टीको धारणा रहेको छ ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर